अर्थ संसार गलकोट- बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् ।
ताराखोला गाउँपालिका–७ करिमेलामा स्वर्णिम साझा सुविधा केन्द्र स्थापना गरी थालिएको उद्योगमा अहिले ११ जना महिलाले काम गर्दै आएका छन् । घरेलु तथा साना उद्योग विकास समिति बागलुङबाट २०६३ सालमा तीन महीने तालीम लिएपछि यहाँका महिलाले अल्लोबाट कपडा उत्पादन गर्न थालेका थिए ।
ताराखोलाका अधिकांश क्षेत्रमा बढी मात्रामा पाइने अल्लोबाट नरम प्रकारको धागो उत्पादन गर्न सकिने भएपछि त्यसको प्रशोधन गरेर महिलाले आम्दानी गर्न थालेका हुन् । परम्परागत रुपमा पुर्खाले भाँगो, चाल्ने सिस्नुलगायतका वनस्पतिका लोक्ताबाट डोरी, नाम्ला तथा दाम्ला निर्माण गर्ने गरेकामा त्यसलाई कपडाको रुपमा विकास गरिँदै आएको उद्यमी महिलाहरु बताउँछन् ।
अल्लोका कपडा लगाउँदा एलर्जी, मुटुसम्बन्धी रोग, उच्च रक्तचापका रोगीलाई राम्रो फाइदा हुने भन्ने विभिन्न अनुसन्धानहरुबाट पुष्टि भएकाले यसको माग बढेको उद्यमी गङ्गा घर्तीमगरले बताउनुभयो । विगत छ वर्ष अल्लोको कडा उत्पादन गर्दै आउनुभएकी ४५ वर्षीया गङ्गा भन्नुहुन्छ, “बागलुङसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट अल्लोका कपडा खोज्नका लागि आउने गरेका छन् ।” मागअनुसारका कपडा बनाउन नसकेको उनको भनाइ छ ।
जङ्गलबाट सङ्कलन गरेर ल्याएको काँचो अल्लो खरीद गरेर समूहले त्यसलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाइने गरिन्छ ।
उद्यमीहरुका अनुसार ६०-७० मिटरको तानमा बुनेको कपडालाई रु ३५ हजारसम्म बिक्री हुने गर्दछ । यस्तै हातले बुनेको झोला, गन्जी, भाङ्ग्रालाई रु तीन÷तीन हजार, सललाई रु दुई हजारमा बेच्दै आएको उद्यमी मनकुमारी रोकाले बताए ।
केही व्यक्तिले मन परेको कपडा भएमा मूल्य थप गरेर पनि दिने गरेका छन् । अल्लोको धागो निकाल्नका लागि गत वर्ष ताराखोला गउँपालिकाले रु सात लाख बराबरको उपकरण प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । धागो निकाल्नका लागि उपकरण आएपछि सहज भएको उद्यमीहरुको भनाइ रहेको छ ।
“हातले गर्दा कयौँ दिन लाग्थ्यो”, रोकाले भने, “उपकरणका सहायताबाट काम गर्दा लागत कम उत्पादन धेरै भएको छ ।” अहिले यस केन्द्रमा झण्डै ३०० मिटर कपडा बिक्रीका लागि तयार पारिएको छ ।
स्वर्णिम साझा सुविधा केन्द्रले अल्लोको कपडासँगै सिस्नोको पाउडरसमेत उत्पादन गर्दै आएको छ । स्थानीय तहले उद्यमीलाई आत्मनिर्भर गराउन निरन्तर सहयोग गर्नुपर्ने रोकाको भनाइ रहेको छ । “अहिले कपडाको माग ह्वात्तै बढेपछि अल्लोको धागोबाट कपडा बुन्न भ्याइनभ्याइ भएको छ”, रोकाले भने, “यस्तै माग बढेमा अल्लोको उत्पादनलाई औद्योगीकरण गर्न आवश्यक देखिन्छ । ”
चाल्ने सिस्नुको लोक्ताबाट तयार पारिने कपडा मूलायम, तापक्रम अनुकूल, हलुङ्गो तथा देख्नलाई पनि राम्रो हुने भएकाले बजारको माग धेरै रहेको छ । जङ्गल, खोल्साखोल्सीलगायतका क्षेत्रमा उम्रिने मसिना काँडैकाँडा भएको वनस्पतिको लोत्ताबाट मूल्यवान् कपडा उत्पादन गर्ने परम्परागत उपायलाई व्यवसायीकरण गर्दै आम्दानी गर्न सफल भएको उद्यमीको भनाइ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस