अर्थ संसार, काठमाडौं–उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ ।
“थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, भक्तपुरको जगाती, काठमाडौँको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौँ प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरुद्ध मुद्दा दायर गरेको छ । आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ ।
  कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई–मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउनुहुन्छ । “छिमेकी मुलुक भारतको खुला सिमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ”, उहाँ भन्नुहुन्छ । लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस