Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि आईपीओ निकालेको माउन्ट एभरेष्ट पावरको कस्तो छ अवस्था ?

अर्थ संसार

बुधबार, ०३ असार २०८३, १२ : ५१ मा प्रकाशित

आजदेखि आईपीओ निकालेको माउन्ट एभरेष्ट पावरको कस्तो छ अवस्था ?

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि (असार ३ गते) बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

उक्त सेयरमध्ये पहिलो चरणमा कम्पनीले ८ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख ७२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ३४ हजार ४०० कित्ता सेयर कर्मचारीहरुका लागि र ८६ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । अब भने कम्पनीले दोस्रो चरणमा १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असार १७ गतेसम्म लम्बिनेछ । तर, पछिल्लो समय आईपीओमा माग भन्दा धेरै नै आवेदन पर्ने भएकाले यो कम्पनीको आईपीओमा समय थप हुने सम्भावना भने न्यून छ । 

कति कित्ता आवेदन दिने ?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ । मागभन्दा बढी आवेदन परेमा कम्पनीको सेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ । पछिल्लो समय यसै प्रक्रियामार्फत आईपीओको बाँडफाँड गरिदै आइरहेको छ । यस अनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गर्न सक्नेछन् । यसरी बाँडफाँट गर्दा कुनै कित्ता सेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ ।

क्रेडिट रेटिङ्ग अनुसार मध्यम जोखिम

साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ पुस ८ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ माघ २४ गतेसम्म बहाल रहने छ ।

कम्पनीको अवस्था 

यस कम्पनीले नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७१ कात्तिक ३० गते, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट प्राईभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०८० असार २८ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार सञ्चालन गर्दै आइरहेको छ । कम्पनीको रजिष्ट्रर्ड कार्यालय ललितपुर महानगरपालिका वडा नं. १५, महालक्ष्मीस्थानमा रहेको छ । त्यस्तै, कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ । कम्पनीले आवश्यकता अनुसार कम्पनी ऐन, २०६३ बमोजिम रजिष्ट्रर्ड कार्यालय स्थानान्तरण गर्न सकिनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा अवस्थित दुधकुण्ड खोला जलविद्युत आयोजनाबाट १२ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण गर्न विद्युत विकास विभागबाट २०७६ मंसिर १८ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । उक्त सम्झौताको अवधि २८ वर्ष ९ महिना बाँकी छ । उक्त आयोजनाबाट २०८१ साउन १६ गतेदेखि व्यापारिक उत्पादन शुरु गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत २४.५८ किलोमिटर लामो ३३ के.भि. सिङ्गल सर्किट प्रसारण लाइन मार्फत सोलुखुम्बु जिल्लामा अवस्थित नेपाल विद्युत प्राधिकरणको १३२ के.भि. तिङ्गला सव–स्टेशनमा जोडिएको छ ।

आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ७४ लाख ४३ हजार ३३६ रुपैयाँ ८३ पैसा रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ ।

आईपीओ बिक्रीबाट हुने पैसा कहाँ प्रयोग हुन्छ ? 

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न कम्पनीले आईपीओ जारी गरेको हो । त्यस्तै, संकलन भएको पूँजीलाई अधिकतम प्रयोग गरी व्यवसायको विकास गरी सेयरधनी लगानीकर्तालाई उच्चतम प्रतिफल सुनिश्चित गर्न र आयोजनाको उर्जा बृद्धि तथा बैकबाट लिईएको कर्जा भुक्तानी र आयोजना निर्माणको लागि रकम संकलन गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले आईपीओ निष्काशन गरेको हो । कम्पनीले आईपीओ निष्काशनबाट प्राप्त हुने रकम आयोजना निमार्ण गर्दा उपभोग गरेको प्राइम कमर्सियल बैंक कर्जा भुक्तानी गर्न प्रयोग गरिनेछ ।

कम्पनीको वित्तीय अवस्था कस्तो ? 

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ८ करोड ४१ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ४ करोड १२ लाख रुपैयाँ थियो । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८४ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा थियो ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १६ करोड २४ लाख ५५ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

कम्पनीको भावी योजना 

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा सहयोग पु¥याई एक सफल कम्पनीको रुपमा स्थापित हुने रहेको छ । त्यस्तै, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी जलविद्युत आयोजनाहरु निर्माण गर्ने लक्ष्य लिएको छ । लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने र लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशष ध्यान दिने रणनीति कम्पनीले अख्तियार गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको