Like us!
Follow us!
Connect us!
Watch us!

छ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’

अर्थ संसार

शनिबार, १४ भदौ २०७६, २२ : २५ मा प्रकाशित

अर्थ संसार, पोखरा– पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा आएको छ ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको आज गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गर्नुभयो ।

फुटसल खेलको विकासमार्फत राष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेल क्षेत्रमा योगदान गर्ने उद्देश्यले क्यासल सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताउनुभयो । चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले रु छ करोड लगानीमा सो क्यासल सञ्चालनमा ल्याउनुभएको बताइन्छ ।

फुटसल मैदानमा सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक संरचना निर्माण गरिएको सञ्चालक अनमोल पालिखेले बताउनुभयो । त्यसैगरी एकपटकमा ८० जनासम्मले अभ्यास गर्न मिल्ने गरी आधुनिक उपकरणसहितको व्यायामशाला रहेको उहाँको भनाइ थियो ।

निश्चित शुल्कमा व्यक्तिगत फुटसल प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउँदै पालिखेले एकै थलोभित्र खेलकूद तथा व्यायाम गर्न सकिने उल्लेख गर्नुभयो । मन्त्री गुरुङले शारीरिकरुपमा स्वस्थ हुन सके मानसिक रुपमा पनि तन्दुरुस्त हुने धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहभागितामा देशलाई समृद्ध बनाइने स्पष्ट पार्नुभयो ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले व्यक्तिगत अनुशासन तथा युवालाई कुलतमा फस्नबाट बचाउनसमेत खेलकूद अपरिहार्य रहेको भनाइ राख्नुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल ह्याडबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ लगायतले स्पोर्टस् क्यासल सञ्चालनसँगै खेलकूदको विकासमा टेवा पुग्ने बताउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको