Like us!
Follow us!
Connect us!
Watch us!

राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

विहीबार, ०५ फागुन २०७३, १६ : ३६ मा प्रकाशित

राँगोबाटै वार्षिक साढे तीन लाख कमाइ

तेह्रथुम–भैँसी पालेर दूध, घ्यु र पाडापाडी बेच्दा राम्रै आम्दानी लिन सकिन्छ भन्दा अनौठो नहोला । तर यहाँका केही किसानले भने राँगो पालेरै भैंसीबाट भन्दा धेरै आम्दानी लिइरहेका छन् । 

बीजका लागि ल्याएका उन्नत जातका राँगो पाल्ने यहाँका किसानले भैँसीलाई राँगो लगो लगाएरै वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेका हुन् । 

पहाडी जिल्लाका लेकाली गाउँमा घरैपिच्छे जस्तो भैँसी पाल्ने चलन अझै हराएको छैन । गोठमा दुहुनो भैँसी भएमात्र घरको मुहार उज्यालो हुने पुख्र्यौली कथन पनि छ । तर राँगोलाई स्याहार गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएकाले गाउँमा राँगो पाल्ने र बहालमा लगाउने किसानका दिन फिरेका हुन् । 

राँगो पालेर भैँसीको जति आम्दानी लिन नसकिने भएपछि राँगोलाई मासुको रुपमा प्रयोग गर्ने चलन छ । खानपिन र स्याहार धेरै मेहनत गर्नुपर्ने भएकैले पनि राँगोपालन त्यति सजिलो नभएकाले राँगो पाउन छाडेपछि ओयाक्जुङ–४ का उमानाथ रिमालले बीजका लागि किनेको राँको अहिले आम्दानीको राम्रो स्रोत बनेको हो । 

रिमालले राँगोलगाएबापत वार्षिक रु तीन लाख ५० हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बीजका लागि पालेको राँगोको एउटा भैँसीबाट हजारदेखि दुई हजार ५०० शुल्क लिने गरेको रिमाल बताउनुहुन्छ । 

बिहान उठेदेखि साँझसम्म राँगोको स्याहारमै बिताउँछु, रिमाल भन्नुहुन्छ– राँगोको स्याहार गरेर सबै साथीभाइको चित्त बुझाउन सके आम्दानी पनि राम्रै हुने रहेछ । 

रिमालले ओयाक्जुङ गाविससँगै जलजले, पौठाक, श्रीजुङ, म्याङलुङ, साब्ला, तम्फुला, आम्बुङ र सोल्मासम्म राँगो लगिदिएर सेवा दिने गरेको बताउनुभयो । आजभोलि रिमालको परिवारको आम्दानीको मुख्य स्रोत नै राँगो बनेको छ । राँगोबाट आएको आम्दानीले नै सामान्य खर्चदेखि चाडपर्वसमेत धान्ने गरेको छ । 

राँगो पालेर बीउका लागि प्रयोगमा ल्याएर आफूले पनि राम्रो आम्दानी गरेको बताउनुहुन्छ इसिवु–२ का कृषक धर्मसिङ बस्नेत । गाउँमा बीजका लागि राँगो पाउन छाडेपछि यहाँका भैँसीपालक किसानले लुकुवा चौतारा सामुदायिक बन समूहमार्फत नै कृषक बस्नेतलाई राँगो किन्न सघाएर गाउँमै बीउ राँगो पालिएको हो । 

सामान्य आर्थिक अवस्था भएका बस्नेत अहिले राँगोबाट आएको आम्दानी नै छोराछोरीको पढाइ, बिहान बेलुकाको दुई गाँस र चाडपर्व राम्रैसंग मनाइएको बस्नेत बताउनुहुन्छ । 

बीजका लागि खरिद गरी ल्याएको राँगोबाट सिम्ले र इसिवु तथा सम्दुका समेत किसानलाई सेवा दिँदै आएका बस्नेतले पनि रु तीन लाख भन्दा बढी कमाउदै आउनुभएको छ । बस्नेतलाई सामुदायिक वन समूहले बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत रु २५ हजार बिना ब्याज ऋण उपलब्ध गराएर सहयोग गरेको थियो । 

सो सामुदायिक वनमा नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले साझेदारीमा बहुसरोकारवाला वन कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

बस्नेतले पालेको राँगोबाट यहाँका ४०० भन्दा बढी घरधुरीले सेवा लिइरहेका छन् । राँगोकै आम्दानीले अहिले राँगो खरिदका लागि लिएको ऋण चुक्ता गरेर अरु दुई वटा दुहुना भैँसी पनि जोडिसकेको बस्नेतले बताउनुभयो । 

गाउँमै उन्नत जातको राँगो ल्याएर व्यावसायिक रुपमा नै पाल्न थालेपछि अहिले बहाल उठाउन पनि खासै समस्या नरहेको ओयाक्जुङ–४ का अम्बिका दुलालले बताउनुभयो । उन्नत जातको बीउ राँगोको प्रयोगबाट गाउँका भैँसीमा दूध घ्युको मात्रामा वृद्धि हुनुकासाथै पाडापाडी पनि फष्टाउन थालेका छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको