Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थीको मृत्युका कारण तनाव भएपछि सात राउण्ड हवाइ फायर

सोमबार, ०९ फागुन २०७३, १७ : २० मा प्रकाशित

बनेपा– बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । 

आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । 

सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षिय कृष्णराम पुर्कोटी (प्रमोद) को रहस्यमय ढङ्गले मृत्यु भएको छ । प्रहरीले उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ भने पीडित आफन्तले विद्यालय व्यवस्थापनले वास्ता नगरेको कारण मृत्यु भएको आरोप लगाएको छ । 

मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरिन । जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् । 

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले घटनाको विस्तृत अनुसन्धान हुने विश्वास दिलाउँदै मृत्युको कारण शव परीक्षणको प्रतिवेदन आएपछि जानकारी हुने बताए ।  

विद्यालयको बेवास्ताका कारण उनको मृत्यु भएको भन्दै आक्रोशित भएका पीडितले विद्यालय परिसर छिरेर तोडफोड गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । 
रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको