Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिनाभित्र माेवाइल डिभाइस म्यानेजमेन्ट सिन्टम लागू हुने, अबैध भित्रने माेवाइल नियन्त्रण हुने विश्वास

अर्थ संसार

बुधबार, २८ माघ २०७७, २१ : ११ मा प्रकाशित

तीन महिनाभित्र माेवाइल डिभाइस म्यानेजमेन्ट सिन्टम लागू हुने, अबैध भित्रने माेवाइल नियन्त्रण हुने विश्वास

नेपाल दूरसञ्चार प्राधिकरणले आगामी तीन महिनाभित्र ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ लागू गर्ने भएकाे छ । यस्ताे प्रणालीकाे पूर्वाधार निर्माण कार्य भइरहेकाे प्राधिकरणका कार्यकारी अध्यक्ष पुरूषाेत्तम खनालले जानकारी दिए । नेपाली बजारमा अवैध रूपमा भित्रिने मोबाइललाई नियन्त्रण गर्न यस्ताे प्रणाली प्रभावकारी हुने विश्वास गरिएकाे छ ।

नेपाल मोबाइल वितरक संघले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले एमडीएमएस जडान गरी सञ्चालनमा आएपछि अवैध भित्रिएका सबै मोबाइल बन्द हुने बताए । उनले यस्ताे प्रणाली कार्यान्वयनमा ल्याउन प्राधिकरणले कार्यविधि बनाइ रहेको बताए । कार्यक्रममा मोबाइल फोन इम्पोर्टर्स एसोसिएनका अध्यक्ष दिपक मलहोत्राले नेपाली बजारमा ठूलोमात्रामा अवैध मोबाइलको कारोबार भइरहेको बताउँदै ‘होलोग्राम प्रयोग गरिएका आधिकारीक माेवाइल मात्र खरिद गर्न ग्राहकलाइ सचेत गराए ।

नेपाल मोबाइल बितरक संघले नेपालमा बढ्दो मोबाइल प्रविधिको प्रयोग, प्रविधिद्धारा सिर्जित अवसर तथा चुनौती, अबैध मोबाइल फोनको विक्रिवितरण र रोकथामका लागि आपसी सहकार्य बारे उक्त कार्यक्रम आयाेजना गरेकाे हाे । विगतमा अनाधिकृत, अबैध (ग्रे) मोबाइल फोनको बिक्रीवितरणले आक्रान्त बनेको नेपाली बजार कोभिड १९को जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले केही महिनाअघि गरेको लकडाउनका कारण अन्तरराष्ट्रिय उडान तथा नेपाल भारतको खुल्ला नाकाहरु समेत बन्द हुँदा चोरी पैठारीबाट भित्रिने अबैध (ग्रे) मोबाइल फोनको बिक्री वितरणमा कमी आएको थियो ।

बैधानिकरुपमा आयात हुने मोबाइल फोनको बिक्री वितरणमा उल्लेखनीय रुपमा सुधार आउनुका साथै स्वास्थ्य संकटको घडीमा समेत राज्यको राजश्वमा बृद्धि भएको थियो । माेवाइल वितरक संघले अबैध(ग्रे) मोबाइल फोनको बिक्रीवितरणलाई पूर्णरुपमा रोक लगाउन विभिन्न प्रयत्न गर्दै आएकाे छ । अहिले अन्तरराष्ट्रिय उडान तथा नाकाहरु खुल्ला भएपछि नेपालमा अवैधानिक मोबाईलको विक्रि वितरणमा तिब्रता आएको हो । खुल्ला सिमानाकै कारण चोरी पैठारी नियन्त्रण राज्यका लागि प्रमुख चुनौती रहेको प्रस्ट देख्न सकिन्छ । अझ मोबाईल पकेटमा हालेर ल्याउन सकिने सानो यन्त्र भएको हुँदा तस्करी गर्नेहरुका लागि सहज छ । यसलाई प्रहरी प्रशासन र भन्सार विभागबाट कडाई गरेको खण्डमा अवैध बस्तुको विक्री धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।

भारतीय बजारमा पाउने मोबाईल सेटहरुको मूल्य र नेपालमा पाइने मोबाईल सेटहरुको मुल्यमा अन्तर पनि ग्रे मोबाइल भित्रनुको मुख्य कारण हो । सरकारले आयातमा लगाएको साढे २ प्रतिशत अन्तशुल्क खारेज गरी अघिल्ला बर्षहरुमा दिदैआएको ४० प्रतिशत मुल्य अभिकृद्धि कर सहुलियत पुन लागू भए मूल्य समायोजन हुने र चोरी पैठारीमा कमी आउने संघकाे दावी छ । मासिक १० लाख मोबाइल सेट आयात हुने नेपाली बजारको झण्डै २५ प्रतिसत हिस्सा ग्रे मार्केटले ओगटेको देखिन्छ । हाल नेपालमा अवैधानिक रुपमा प्रयोगमा आइरहेका मबाईल सेटहरु बन्द गर्ने प्रविधि ह्वाइट लिस्टिङ्ग सिस्टमको बहस केही वर्षपहिलेदेखि चलेता पनि अहिलेसम्म लागू हुन सकेको छैन ।

आयातकर्ताहरुले आईएमईआई नम्बर फोन आयात गर्नुभन्दा अगाडि नै प्राधिकरणमा दर्ता गरेर मात्र फोन आयात गर्न पाउने व्यवस्था गरिएको छ भने यसको साथमा टाइप अप्रुभलको कागतपत्र पनि आवश्यक पर्दछ । तर व्यक्तिगत रुपमा भने प्रयोगकर्ताले बाहिरी मुलुकबाट किनेर वा उपहारमा आएको तथा अबैध रुपमा भित्रिएको मोबाइल फोनको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता नगरि प्रयोग गरेका मोबाइल फोनहरुबाटै धेरै अपराधिक घट्नाहरु हुनेगर्दछ । त्यस्ता अबैध सेट प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्ने र अबैध बस्तु विक्रिवितरण गर्ने ब्यवसायीलाई कडाइका साथ कारवाही गर्ने तर्फ सबै पक्षको ध्यानजान जरुरी रहेकाे संघकाे दावी छ । पछिल्लाे समय मोबाइल प्रविधिको बढ्दो प्रयोगसँगै आम नागरिकहरुले अत्यावश्यकीय वस्तुको रुपमा मोबाईललाई प्रयोग गर्दै आइरहेका छन् । मोबाईल फोन सामान्य सञ्चारको माध्यम मात्र नभएर मनोरञ्जन तथा शिक्षाको समेत शसक्त माध्यम बन्न पुगेको छ । मोबाईल फोनको लोकप्रियता बढ्दोछ ।

मोबाईल फोनको बढ्दो प्रयोगले मानिसहरुको जीवनशैली नै परिवर्तन गरिदिएको छ । यसले राज्य र ब्यवसायीलाई अवशर र चुनौतीसमेत थपिदिएको छ । सन् १९७३ मा मार्टीन कुपर नाम गरेका अमेरिकी नागरिकले मोटोरोला कम्पनीको पहिलाे मोबाईल उत्पादन गरेका थिए । त्यसको ठिक १३ वर्ष पछि मोटोरोलाले आफ्नो व्यवसायिक मोबाईल १९८६ बाट विक्री शुरु गरेको देखिन्छ । १९७३ देखि यो ५० वर्षको इतिहासलाई हेर्ने हो भने मोबाईल प्रविधिको विकास द्रुत गतिमा भैरहेको छ । संसारका ७३ प्रतिशत मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहेका छन् ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार विश्वभरमा ५ अर्व मोबाईल प्रयोगकर्ताहरु छन् । मोबाईलमा भएको नयाँ टेक्नोलोजीको विकासले मोबाईलको व्यापार मात्र नभएर विश्वभरिका मानिसहरुलाई एकिकृत गरि सहज सूचना प्रवाहको महत्वपूर्ण माध्यम बन्दै आएको छ । मोबाईलको प्रयोगले ज्ञानको विकास, चेतनाको स्तर वृद्धि र संसार भरि भएका घटनाक्रमहरुलाई तुरुन्त सूचना प्रवाहमा मद्धत गर्दछ ।

विश्वमा मोबाईल टेक्नोलोजीको विकास सँगसँगै नेपालमा मोबाईल प्रयोगकर्ताहरुको संख्या पनि त्यत्तिकै मात्रामा वृद्धि भैरहेको छ । नेपालमा मोबाईल सेवा २०५६ सालबाट शुरु भएको देखिन्छ भने मोबाईल इन्टरनेट सेवा २०५७ सालदेखि शुरु भएको देखिन्छ । २०५६ सालमा शुरु भएको मोबाईल सेवा देशका झण्डै ६८ प्रतिशत मानिसहरुले प्रयोग गर्दै आइरहेका छन् । एक रिपोर्ट अनुसार नेपाल टेलिकमका ग्राहक १ करोड ६२ लाख र एनसेलका ग्राहक १ करोड ६४ लाख भएको दावी गरिएको छ । अर्को तर्फ झण्डै ६० प्रतिशत मानिसहरु इन्टरनेट प्रयोग गर्दछन् ।

२०६४ साल देखि थ्रिजी सेवा शुरु भएको नेपालमा हाल आएर फाेर जी सेवा सबै ठाउँमा नभए तापनि अधिकाँस शहरहरुमा संचालनमा छ । मोबाईल सेवाको विस्तारलाई हेर्ने हो भने दिन प्रति दिन तिव्र गतिमा कम्पनीहरुले आफ्नो सेवालाई प्रभावकारी र प्रतिस्पर्धी बनाउँदै अगाडि बढिरहेको देखिन्छ । मोबाईल प्रविधीलाई अझ व्यवस्थित बनाउन सरकारले नयाँ योजना ल्याएको खण्डमा यससँग जोडिएका सम्पूर्ण पक्षहरुलाई काम गर्न गराउन ज्यादै सहज हुने कुरा स्पष्ट छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको