Like us!
Follow us!
Connect us!
Watch us!

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

अर्थ संसार

विहीबार, ०३ असार २०७८, १८ : ५१ मा प्रकाशित

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ । यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ । माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएशन)लाई छनौट गरी उत्कृष्ट ७ लाई रू. २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । सहभागी हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी (www.mydigitalnepal.org) वेबसाइटमा गएर आफ्नो क्रिएशन बुझाउन सक्नेछन् ।

यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् । कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आइसिटी विकास समिति), प्याब्सन लगायतका संस्थाहरूको सहयोग रहेको छ । ‘भविष्य नेपालको’ नारा सहित शिक्षा सिकाइलाई रूपान्तरण गर्ने प्रयासमा रहेको माई सेकेण्ड टिचरले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । माई सेकेण्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लाटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ । 

मेरो डिजिटल नेपाल थिममा आइसिटी राइटिङ एण्ड डिजिटल क्रिएटिभिटी कम्पिटिशन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित ७ जनाको छनौट समिति रहेको छ । विभिन्न चरणमा हुने छनौट प्रक्रियालाई विधा अनुसार उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल नेपालको अभियानको बारेमा जानकारी हुनुका साथै प्रविधिको क्षेत्रमा अध्ययन गर्ने बानी बसाल्ने आयोजक समितका अध्यक्ष राजन लम्सालले बताए । यस प्रतियोगिताबाट आएका नयाँ पुस्ताको सोच र भावनालाई कदर गर्दै भोलिको समृद्ध डिजिटल नेपाल बनाउन सरकार र सरोकारवालालाई पनि ध्यानाकर्षण गराउने आयोजकको विश्वास रहेको छ ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको