Like us!
Follow us!
Connect us!
Watch us!

आवास अनुदान रकम वितरण किन हुन सकेन  ?

आइतबार, २१ जेठ २०७४, ०८ : ४६ मा प्रकाशित

आवास अनुदान रकम वितरण किन हुन सकेन  ?

अर्थ संसार,  फलेवास (पर्वत) – स्थानीय तहको चुनावले पर्वतमा भूकम्पपछिको पुनःनिर्माण कार्य ओझेलमा परेको छ । चुनावको प्रभाव र जिल्ला समन्वय समिति पर्वतको ढिलाइका कारण अहिलेसम्म पनि निजी आवास अनुदान रकम वितरण हुन नसकेको हो । 

पर्वतमा कुल पूर्ण क्षति भएका लाभग्राहीको सङ्ख्या पाँच हजार ३६९ रहेको छ । जसमध्ये हालसम्म दुई हजार २० जनासँग मात्र अनुदान सम्झौता भएको भए पनि रकम भने वितरण नगरिएको जिल्ला समन्वय समितिले जनाएको छ । 

सम्झौता गरिएकामध्ये ५०३ जना लाभग्राहीलाई भुक्तानीका लागि सिफारिससमेत गरिएको छ । जिल्ला समन्वय समितिले समयमै निकासा नदिँदा उनीहरु रकम पाउनबाट वञ्चित बनेका हुन् ।

पुनःनिर्माणका लागि पहिलो किस्ताबापत आवश्यक पर्ने रु २६ करोड रकममध्ये जिल्ला विकास समितिमा रु १८ करोड केही महिनाअघि नै निकासा आएको थियो ।

तर पनि अहिलेसम्म वितरण हुन भने नसकेको जिविसका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्ताबापतको भुक्तानीका लागि प्रक्रिया सुरु भएको छ र लेखाले भुक्तानी दिने तयारी गरेको बताइएको छ । 

भूकम्पबाट जलजला गाउँपालिकामा १८७ घर पूर्ण क्षति भएकामा हालसम्म ९२ जनासँग अनुदान सम्झौता भएको छ । त्यसैगरी कुश्मा नगरपालिकामा ९४३ घरमध्ये २० जनासँग मात्रै सम्झौता भएको छ ।

मोदी गाउँपालिकामा ५०३ घर पूर्ण क्षति भएकामा २६० घरपरिवारसँग सम्झौता भएको छ । फलेवास नगरपालिकामा एक हजार ४५६ घर पूर्ण क्षति भएकामा ३५६ सँग सम्झौता भएको छ । 

त्यसैगरी विहादी गाउँपालिकामा एक हजार १३७ घर क्षति भएकामा ७०६ जनासँग मात्र सम्झौता भएको छ । महाशिला गाउँपालिकामा ६५७ घर पूर्ण क्षति भएका थिए ।

त्यसमध्ये हालसम्म ३४६ घरधनीसँग अनुदान सम्झौता भएको छ भने पैंयु गाउँपालिकामा ६५७ घर पूर्ण क्षतिमा मूल्याङ्कन भएकामा ३४६ जनासँग सम्झौता भएको सूचना अधिकृत शर्माले जानकारी दिनुभयो । 

अहिलेसम्म मोदी गाउँपालिकाका ३३२ घरपरिवार र विहादी गाउँपालिकाका १७१ जनालाई मात्र भुक्तानीका लागि सम्झौता गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । भूकम्प गएको दुई वर्ष वितिसक्दा पनि राज्यले दिएको अनुदान रकम नपाउँदा पीडितहरु समस्यामा परेका छन् । 

चैत अन्तिम साता तिलाहारबाट सुरु गरिएको अनुदान सम्झौता सुस्त गतिमा हुँदा पीडितले रकम समयमै पाउन नसकेका हुन् । सम्झौताको शुभारम्भमा वैशाख १२ भित्रै सबैसँग सम्झौता गरिसक्ने र बैंक खातामा पैसा जम्मा गरिसक्ने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म कुनै पनि पीडितले रकम पाउन नसकेका हुन् । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको