अर्थ संसार, बेनी (म्याग्दी) – निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ ।
स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौचालयसहित देशका विभिन्न जिल्लाका साथै विदेशबाट आउने पर्यटकलाई समेत सहज हुने गरी सामुदायिक लज निर्माणको काम पनि भइरहेको छ । अन्य पूर्वाधार पनि थपिएको छ । पूर्वाधार विस्तारका लागि युकेमा रहेका शिखवासीको पहलमा रु ७९ लाख सङ्कलन भएको छ ।
जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने शिखको खयरबराह क्षेत्रमा पाउद्वारस्थित खोप्रा देखि खयरबराह तालसम्म बाटो मर्मत, खयरक्षेत्रमा निर्मित पदमार्गमा फलामको रेलिङ, सत्तल, खानेपानीलगायतका आवश्यक पूर्वाधार विस्तारले तीव्रता पाएको छ ।
खोप्रा आसपासको क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारमा खटिएका पुनले जिल्लाकै नमुना पर्यटकीयस्थलका साथै धार्मिक गन्तव्य बनाउने अभियानमा विश्वभर रहेका शिख, पाउद्वारवासीको सक्रियतामा आर्थिक सङ्कलन गरिएको बताउनुभयो । निकै जोखिमपूर्ण तरिकाले खानेपानीको पाइप विस्तार भइरहेको छ । पाउद्वारबाट खोप्रासम्म पुग्दा लाग्ने थकाइलाई विश्रामसँगै सुविधासम्पन्न लजको व्यवस्थाले समेत पर्यटकलाई राहत मिलेको छ ।
डिजिटल साक्षरता अभियन्ता महावीर पुनले विस्तार गरेको बेतारे इन्टरनेटको राजधानीसमेत भनेर चिनिने खोप्रामा कास्कीको घान्दुक, शिखको घोरेपानी, पाउद्वार र नारच्याङबाट पर्यटक पुग्ने गरेका छन् । पुनकै प्रयासमा सामुदायिक लजको स्थापना भएको हो ।
समुद्री सतहबाट चार हजार ८०० मिटर उचाइमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौँको सङ्ख्यामा पूजा गर्न जाने गरेका छन् । निलगिरि हिमालको नजिक रहेको मन्दिरको छेउमा खयरबराह तालको अवलोकन गर्न विदेशी पर्यटक समेत पुग्ने गरेका छन् ।
आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ म्याग्दीको सदरमुकाम बेनी–पोखरेबगर हँुदै तीन दिनको पैदलयात्रामा सयौँको सङ्ख्यामा खयरबराही तालमा जोखिमपूर्ण यात्रा गरेर भक्तजन मन्दिरमा पुग्ने गरेका छन् ।
पहिलोदिन पाउद्वार, दोस्रोदिन खयरक्षेत्र र तेस्रो दिन मन्दिरमा पूजा गरेर फर्कन्छन् । पदमार्ग र आवश्यक पूर्वाधारले धार्मिक तथा घुम्न जाने पर्यटकलाई ठूलो राहत मिलेको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस