Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ०६ : ५४ मा प्रकाशित

विद्युतीय भुक्तानी कारोबारमा गुणात्मक वृद्धि

नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गत आर्थिक वर्ष जेठसम्मको तथ्यांकअनुसार विद्युतीय भुक्तानीको संख्या र परिमाण गुणात्मक रूपमा बढेको देखिएको छ । केन्द्रीय बैंकका अनुसार ठूलो कारोबारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) कनेक्ट आईपीएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उच्च वृद्धि भएको छ ।

यी उपकरणको माध्यमबाट २०७७ जेठसम्ममा १६ खर्ब ३८ अर्ब १० करोड ४० लाख बराबरको कारोबार भएकोमा २०७८ जेठसम्ममा २१ खर्ब १२ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसमा आरजीटीएस, कनेक्ट आईपीएस र मोबाइल बैंकिङको ठूलो हिस्सा छ । तथ्यांक अनुसार २०७७ जेठमा कनेक्ट आईपीएसबाट ६ लाख ९६ हजार ५३८ पटक कारोबार भएकोमा २०७८ जेठमा २० लाख १६ हजार ६४८ पुगेको छ । नेपाल राष्ट्र बैंकले अभियानकै रूपमा सञ्चालन गरेको क्विक रेस्पोन्स (क्यूआर) मा आधारित कारोबारमा पनि बढेको छ । क्विक रेस्पोन्समा आधारित भुक्तानी २०७७ असार मसान्तमा १ लाख ९५ हजार १६ ओटा भएको थियो, जुन २०७८ जेठ मसान्तमा ५ लाख २ हजार ६६६ पुगेको छ ।     

यसैगरी २०७७ जेठमा मोबाइल बैंकिङमार्फत ५८ लाख १७ हजार ६८१ पटक कारोबार भएकोमा बढेर २०७८ जेठ मसान्तमा १ करोड १० लाखभन्दा माथि पुगेको छ । वालेटमार्फत हुने कारोबार भने केही घटेको छ । २०७७ जेठमा १ करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएकोमा २०७८ जेठ मसान्तमा ९७ लाख ५० हजार ६५ मा सीमित छ ।    

कोरोनाका कारण २०७६ चैतदेखि २०७७ साउनसम्म देशव्यापी लकडाउन लागू भयो । यस्तै २०७८ वैशाख १६ गतेदेखि २०७७ असारको दोस्रो सातासम्म देशव्यापी निषेधाज्ञा लागू भयो । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिक रूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका छन् । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणअनुसार कनेक्ट आईपीसमार्फत हुने कारोबार १ खर्ब भन्दा बढीले भएको छ ।     

२०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आईपीएसमार्फत भएकोमा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान प्रधानका अनुसार ग्राहकमा बढ्दै गएको प्रविधिप्रतिको जागरुकता तथा कोरोनाका कारण पनि विद्युतीय कारोबारमा वृद्धि भएको हो । सरकार, नेपाल राष्ट्र बैंक र सम्बद्ध अन्य निकायको सार्थक प्रयासले नगदरहित कारोबार बढेको उनको भनाइ छ । सबै क्षेत्रमा सहज रूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने उनले बताए ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्म ५८ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी क्यूआरकोडमार्फत भएको थियो । २०७८ जेठ मसान्तसम्ममा त्यो बढेर १ अर्ब ९६ करोड ८० लाख पुगेको छ । यसले पनि ग्राहकहरू प्रविधिको प्रयोगमा अध्यस्त हुँदै गएको देखिन्छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली नेपाल राष्ट्र बैंकले सहज रूपमा नीतिगत व्यवस्था गरिदिएको तथा नागरिकमा आएको जागरुकताका कारण विद्युतीय कारोबार बढेको बताउँछन् ।

क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको