Like us!
Follow us!
Connect us!
Watch us!

सवारी एसेम्बलिङ उद्योगमा ५० प्रतिशत छूट

पत्रपत्रिका

आइतबार, २७ भदौ २०७८, ०७ : १९ मा प्रकाशित

सवारी एसेम्बलिङ उद्योगमा ५० प्रतिशत छूट

सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्का ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।

यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ । हाल नेपालमा हंसराजले बजाज र जगदम्बाले टीभीएसका मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नयाँ व्यवस्थाले सकारात्मक प्रभाव पार्ने बताए । ‘ठूलो लगानी गरेर जोखिम मोलेर उत्पादन गरिरहेका थियौं तर खतरा त्यति नै थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले सहजीकरण गरेको छ ।’ उनले नयाँ व्यवस्थासँगै अबको केही समयमै नेपालमै उत्पादन भएका टीभीएसको मोटरसाइकलमा ग्राहकले केही सस्तो मूल्यमा पाउने वातावरण बनेको बताए । ‘ग्राहकले मूल्यमा पनि केही सहुलियत पाउनेछन्,’ उनले भने ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए ।

‘यसले देशभर एकदमै सकारात्मक लहर ल्याउँछ,’ उनले भने, ‘सबै ब्रान्डका एसेम्बलिङ उद्योग खुल्छन् ।’ प्रभावकारी रूपमा कार्यान्वयन भएमा एसेम्बलिङ उद्योगसँगै पाटर््स उद्योग पनि खुल्ने भएकाले यसले औद्योगिक लहर ल्याउने उनको विश्वास छ ।

सरकारले मोटरसाइकलको वर्गीकरण नै बदलेकोमा यसले व्यवसायमा सामान्य असर पुग्ने उनी बताउँछन् । सामान्यतया सर्वसाधारणले २५० सीसीसम्मका मोटरसाइकल चढ्ने र त्योभन्दा माथि रहरले चढ्ने उनले बताए । सर्वसाधारणले अत्यावश्यक कामका लागि मोटरसाइकल चढ्ने भएकाले ठूलो सीसीका मोटरसाइकलमा कर बढाए पनि साना सीसीका मोटरसाइकलमा घटाउनुपर्ने उनको भनाइ छ । प्रतिस्थापन विधेयकले १२५ देखि २०० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क वृद्धि गरी ५० प्रतिशत पुर्‍याएको छ । २ सय देखि २५० सम्मका मोटरसाइकलमा ६० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ ।

सरकारले नेपालमै एसेम्बलिङ उद्योग सञ्चालन गर्नेलाई प्रवद्र्धन गर्ने नीति लिए पनि व्यवसायी भने तत्काल लगानी गर्न तयार देखिँदैनन् । सरकारैपिच्छे नीति परिवर्तन हुँदा लगानीमा बाधा भएको हिरो मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योति बताउँछन् ।

‘एमालेको सरकार हुँदा मोटरसाइकलको सेग्मेन्ट एक थियो, संयुक्त आउँदा बदलियो र अहिले फेरि बदलिएको छ,’ उनले भने, ‘यसरी सरकारैपिच्छे नीति परिवर्तन हुने भएकाले लगानीका लागि तत्परता देखिँदैन ।’ उनले दीर्घकालसम्म प्रभावकारी रूपमा नियम कार्यान्वयन भए एसेम्बलिङ उद्योग स्थापनका लागि हिरोले योजना बनाइरहेको बताउँदै अन्य उद्योग पनि खुल्ने बताए ।

तर, सरकारले मुलुकभित्रैका उद्योगको प्रवर्द्धन गर्न नसकेको आरोप उनको छ । ‘मुलुकभित्रैका अन्य उद्योग बन्द हुने अवस्थामा पुगेका छन् सरकारले तिनको संरक्षणमा ध्यान दिएको छैन,’ उनले भने, ‘उद्योग खुल्नु ठूलो नभएर ती निरन्तर सञ्चालन हुनुपर्ने भएकाले यसमा पनि राज्यले ध्यान दिन आवश्यक छ ।’

अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको