Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकको ‘फेक’ फोटोले खलबलियो बंगलादेश, सदभावकाे पक्षमा जनदवाव

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ११ : ०५ मा प्रकाशित

फेसबुकको ‘फेक’ फोटोले खलबलियो बंगलादेश, सदभावकाे पक्षमा जनदवाव

दुई साताअघि फेसबुकमा मुस्लिम धर्मको पवित्र ग्रन्थ कुरानलाई अपमानित गर्दै त्यसमाथि एउटा बच्चाले पिसाब फेरिरहेको फोटो भाइरल भयो। त्यो फोटो मुस्लिम र हिन्दु धर्मबीच द्वन्द्व चर्काउन खोज्ने समूहले नियतवश पोस्ट गरेको रहेछ।

मुस्लिम समुदायको आस्थामाथि चोट पुग्ने गरी फोटोसपबाट जोडजाड गरेर पाँच वर्षअघि बनाइएको उक्त फोटो यसपटक फेरि कट्टरवादी समूहले फेसबुकमा सेयर गरेको बंगलादेशको प्रहरी अनुसन्धानले पुष्टि गरिसकेको छ। तथापि, उक्त फोटोलाई बंगलादेशका विभिन्न सहरमा साम्प्रदायिक दंगा मच्चाउन औजारका रूपमा प्रयोग गरियो । फेसबुकमा भाइरल भएको उक्त फोटो मुस्लिम र हिन्दुबीच हिंसा भड्काउन मज्जाले सफल भयो।

यहाँका हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व दुर्गापूजा सुरु भइसकेको थियो। गाजिपुर, चितागोङलगायत विभिन्न सहरमा दुर्गापूजाका लागि तयार पारिएका दर्जनौं मण्डप मुस्लिम अतिवादीहरूले निशाना बनाए, निमेषभरमै तोडफोड गरे। उक्त समूहले हिन्दुहरूमाथि आक्रमण गर्नुका साथै पसलहरू लुटपाटसमेत ग¥यो। प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुँदा चारजनाको ज्यानसमेत गएको प्रहरीले जनाएको छ।

पछिल्लो समययता साम्प्रदायिक दंगाको रंग धूमिल बन्दै गएका बेला एकाएक हिंसाले चरम रूप लिन पुग्यो। बंगलादेशमा १० प्रतिशत हाराहारी संख्यामा रहेका अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरू एकाएक त्रसित बन्नुपर्ने अवस्था आयो। मुस्लिम कट्टरपन्थी संगठन जमाते इस्लामीले बंगलादेशका विभिन्न स्थानमा हिन्दु मन्दिर तोडफोड गरेको जिम्मेवारी लिएको छ। 

तथापि, साम्प्रदायिक सद्भाव भड्किन नदिन शेख हसिना नेतृत्वको सरकारले एकदमै सकारात्मक भूमिका निर्वाह गरेको छ। हिंसा सुरु हुनासाथ बंगलादेशका ६४ जिल्लामध्ये हिन्दुहरूको जनघनत्व रहेका २२ जिल्लामा सरकारले पारामिलिट्री फोर्स परिचालन गरिसकेको छ। यसकै परिणामस्वरूप सरकारले मुस्लिम उग्रवादी समूहसँग आबद्घ दर्जनौं व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। विपक्षी बंगलादेश नेसनल पार्टीले कट्टरवादी समूहलाई उक्साएर साम्प्रदायिक हिंसा भड्काएको प्रधानमन्त्री शेख हसिनाको आरोप छ।

हसिना सरकारले धार्मिक सहिष्ष्णुताको पक्षमा उभ्याउँदै कट्टरपन्थी अपराधीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। त्यसैगरी, विभिन्न सांस्कृतिक संगठनले सामाजिक सद्भाव कायम कायम राखिनुपर्छ भन्दै मंगलबार राजधानी ढाकामा र्याली निकालेका छन्। बंगलादेशका वामपन्थी दलहरूले पनि कट्टरपन्थीहरूको विरुद्धमा आफूलाई उभ्याएका छन्। यसले पछिल्लो समय बंगलादेशमा धार्मिक कट्टरताभन्दा पनि सामाजिक सद्भाव पक्षधरको संख्या उल्लेख्य रहेको इंगित गर्छ।

गत साता ढाकास्थित हिन्दुहरूको प्रमुख ढाकेश्वरी मन्दिरमा पूजाआजाका लागि भेला भएका हिन्दु भक्तजनहरूलाई प्रधानमन्त्री हसिनाले भर्चुअल सम्बोधन गर्दै शान्ति–सुरक्षा कायम राख्न प्रतिबद्ध रहेकाले हतास नहुन आग्रह गरेकी थिइन्। दुर्गापूजाको मण्डप तोडफोडमा उत्रिएका अपराधीहरूलाई कुनै हालतमा उम्किन नदिने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। यसबाट के देखिन्छ भने हसिना सरकार जसरी हुन्छ, कट्टरपन्थीहरूलाई निस्तेज पार्न अग्रसर भएको छ।

पछिल्ला दिनमा साम्प्रदायिक दंगा भएका ढाकालगायत विभिन्न स्थानको अवस्था सामान्य हुँदै गएको छ। पारामिलिट्री फोर्स तथा प्रहरीलाई चौबीसै घन्टा तैनाथ राखिएको छ। कुनै समूहले धाक–धम्की दिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। 

सचेत, जागरुक र प्रबुद्ध वर्ग धार्मिक कट्टरताको पक्षमा खुलेर उभिएका छन्। यसले बंगलादेशी समाज धार्मिक सद्भाव र समन्वयकै पक्षमा अडिग रहन्छ भन्ने सन्देश पनि दिएको छ। 

(बंगलादेश, ढाकास्थित लोकप्रिय आरटिआई टेलिभिजनका न्युज प्रमुख खानसँग गरिएको कुराकानीमा आधारित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको