Like us!
Follow us!
Connect us!
Watch us!

वर्षाले धान डुबाउँदा अर्थतन्त्रमा ३% क्षति, व्यापार घाटा बढ्नुका साथै गरिबी एवं कुपोषण बढ्ने

पत्रपत्रिका

शुक्रबार, ०५ कार्तिक २०७८, १० : ०६ मा प्रकाशित

वर्षाले धान डुबाउँदा अर्थतन्त्रमा ३% क्षति, व्यापार घाटा बढ्नुका साथै गरिबी एवं कुपोषण बढ्ने

केही दिनदेखिको अविरल वर्षाले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २ देखि ३ प्रतिशतसम्मको क्षति पुग्ने अर्थविद्हरूले अनुमान गरेका छन् । कात्तिक पहिलो साता परेको वर्षाले कुल उत्पादनको झण्डै २० देखि २५ प्रतिशत धानमा क्षति पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ । जसका कारण खाद्यान्न आयात बढ्दा व्यापार घाटा पनि बढ्ने तथा खाद्यान्न अभावमा कुपोषणसमेत बढ्ने अनुमान अर्थविद्हरूको छ ।

नेपालको कृषि उत्पादनमा १० देखि १२ प्रतिशतसम्म योगदान गर्ने धान खेतीमा यति ठूलो क्षति पुग्दा त्यसले कुल गार्हस्थ्य उत्पादनमा नै असर गर्ने अनुमान गरिएको हो । वरिष्ठ अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी वर्षाले धानमा परेको क्षतिले जीडीपीमा झण्डै २ प्रतिशतको गिरावट ल्याउने बताउँछन् । “कृषिले देशको कुल जीडपीमा २७÷२८ प्रतिशतको योगदान गर्दा धानको योगदान कुल कृषि उत्पादनमा मात्र १२÷१३ प्रतिशत छ,” उनले भने, “वर्षाले धेरै काटेको धान बिग्रिएको छ भने काट्ने बेलाको धान पनि लडेको छ । यसरी झण्डै २० देखि २५ प्रतिशत धान नोक्सान हुँदा अर्थतन्त्रमा २ प्रतिशतले असर पुग्ने अनुमान गर्न सकिन्छ ।”

गत महिना चालू आर्थिक वर्ष २०७८÷०७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तीव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालू वर्षमा एसियाली विकास बैंकले ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । तर, सरकारले भने ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

त्यसैले सरकारले धान बालीको क्षतिबाट अर्थतन्त्रमा पर्ने असरलाई कम गर्न कृषिका अन्य क्षेत्रको योगदानलाई बढाउनुपर्ने उनी बताउँछन् । “धानका कारण उत्पादनमा आउने ह्रासलाई कम गर्न अन्य क्षेत्रको योगदान बढाउनेतर्फ सरकारले विशेष खालको कार्यक्रम ल्याउनुपर्छ,” उनले भने । त्यस्तै बाँकी धानलाई क्षति नहोस् भन्नका लागि पनि सरकारले चाँडोभन्दा चाँडो धान उठाउन सहयोग गर्ने तथा राहतको समेत व्यवस्था गर्नुपर्ने उनको तर्क छ । “धान डुबाउँदा कतिपय किसानले वर्षभरि भात नै खान नसक्ने अवस्था हुन सक्छ । त्यसका लागि सरकारले राहातको व्यवस्था गर्नुपर्छ,” उनले भने ।

त्यस्तै अर्थशास्त्री प्रा.डा. रघुवीर विष्ठ पनि बाढीले धान डुबाउँदा कुल गार्हस्थ्य उत्पादनमा संकुचन आउने बताउँछन् । “जीडीपीमा कृषि क्षेत्रको २७ प्रतिशत योगदानमध्ये धानले ठुला हिस्सा ओगटेको छ,” उनले भने, “धान खेतीमा ठूलो असर पर्दा यसले खाद्य संकट बढाउनुका साथै अर्थतन्त्रमा नै संकुचन ल्याउँछ ।”

कोभिडको समयमा कृषि क्षेत्रले मात्र जीडीपीमा सकारात्मक योगदान दिएको अवस्थामा धान खेतीमा पनि परेको विपतले अर्थतन्त्रमा असर गर्ने उनको तर्क छ । “कोभिड प्रभावमा कृषि क्षेत्रले मात्र २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो,” उनले भने, “कोभिडाको अर्थतन्त्रलाई उठाउन कृषि क्षेत्रले केही पहल गर्ला भन्ने आस जागेको अवस्थामा यो विपतले आशा नै मेटाएको छ ।”

बाढीले धान डुबाउँदा धानको उत्पादन घटी विदेशबाट आयात गर्नुपर्दा व्यापार घाटा बढ्नुका साथै गरिबी समेत बढाउने विष्टको तर्क छ । यसमा सरकाले कृषकलाई कसरी राहत दिन्छ तथा नोक्सानीको बीमा कसरी दिइन्छ त्यसले प्रभाव पार्ने उनी बताउँछन् । अर्का अर्थविद् केशव आचार्य पनि यसले अर्थतन्त्रमा प्रभाव पार्ने बताउँछन् । तर, कति प्रभाव पार्छ त्यो भने कति क्षति भयो त्यसको यकिन तथ्यांक आएपछि मात्र भन्न सकिने उनको तर्क छ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको