Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षण पेसा छोडेर गाइपालन, दूध बेचेर मासिक असी हजार आम्दानी

विहीबार, ०१ असार २०७४, १६ : २४ मा प्रकाशित

शिक्षण पेसा छोडेर गाइपालन, दूध बेचेर मासिक असी हजार आम्दानी

अर्थ संसार, रामपुर (पाल्पा )  रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । 

जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । 

पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिनुभएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थाल्नुुभएको हो । उहाँको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । दैनिक ५० लिटर दूध उत्पादन हुन्छ । 

“जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ,” उहाँले भन्नुभयो । अहिले घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले घरबाटै दूध बिक्री गरिरहनुभएको छ । 

“एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ,” ढुङ्गानाले भन्नुभयो । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न तरकारीखेती समेत गर्दै आउनुभएको छ । उहाँ कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रका समेत उत्तिकै सक्रिय हुनुहुन्छ । 

ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गर्नुभएको छ । व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । उन्नत जातका गाई पाल्ने उहाँले सोच बनाउनुभएको छ । उहाँको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन् । जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उहाँ सुझाव दिनुहुन्छ । 

स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आउनुभएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको