Like us!
Follow us!
Connect us!
Watch us!

राम्रो आम्दानी हुने भएपछि व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

शनिबार, ०३ असार २०७४, १६ : १९ मा प्रकाशित

राम्रो आम्दानी हुने भएपछि व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो


अर्थ संसार, रामपुर (पाल्पा)– पाल्पाका महिलाले व्यावसायिकरुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सधैं घरायसी काममा सीमित रहने यहाँका महिलाले पछिल्लो समयमा आयआर्जनका लागि व्यावसायिक रुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।

पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि यहाँका महिला आर्थिकरुपमा आत्मनिर्भरसमेत बन्दै गएका छन् । आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेपछि उनीहरुले आफ्नै नाममा पशुफार्म दर्ता गराएर व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

रामपुरकी अगुवा महिला कृषक विष्णुदेवी गैरेले गाईफार्म सञ्चालन गरेर नमुना महिला उद्यमीका रुपमा चिनिनुभएको छ । दुईवटा गाईबाट पशुपालन व्यवसाय सुरु गरेकी गैरेको फार्ममा अहिले सात वटा होलस्टिन र जर्सी जातका गाई छन् ।

रु सात लाखको लगानीमा सुरु गरेको सो गाइफार्मबाट दैनिक ३० लिटर दूध उत्पादन गरी मासिक रु ४० हजार बराबरको आम्दानी लिने गरेको गैरे बताउँछिन् । “साँझ बिहान दूध बेचेको पैसाले घर व्यवहार चलाउन सजिलो भएको उहाँ बताउनुहुन्छ ।” आगामी दिनमा गोठको क्षेत्रफल बढाएर ५०÷६० वटासम्म गाई पाल्ने लक्ष्य रहेको उहाँ भन्नुहुन्छ ।

शिक्षण पेसा छाडेर आर्यभन्ज्याङ्की सावित्रा न्यौपानेले पनि कुखुरापालन व्यवसायमा रमाउँदै गरेकीछिन् । दशवर्षसम्म शिक्षण पेसामा आवद्ध रहनुभएकी न्यौपानेले जागिर छाडेर अहिले व्यावसायिक रुपमा कुखुराफार्म व्यवसाय सुरु गरेकीछिन् ।

“जागिरबाट सामान्य जिवनयापन गर्न पनि अप्ठ्यारो पर्न थालेपछि कुखुरापालन व्यवसाय सुरु गरेकी हुँ” उहाँले भनिन्– “सहकारीबाट पाँच लाख ऋण झिकेर व्यवसाय सुरु गरेकी छु ।” आफ्नै नाममा फार्म दर्ता गरेर व्यवसाय चलाउनुभएकी न्यौपानेले फार्म निर्माण र चल्ला तथा दाना खरिदमा अहिलेसम्म रु २० लाख भन्दा बढी लगानी गरेको छ ।

रमा घर्ती पनि गाईफार्म सञ्चालन गरेपछि आफू आत्मनिर्भर बन्दै गएको बताउनुहुन्छ । घर्तीको फार्ममा अहिले १२ वटा माऊ गाई रहेका छन् । रु नौ लाखको लगानीमा पशुपालन व्यवसाय सुरु गरेकी घर्तीले दैनिक ५० लिटर दूध उत्पादन गरी मासिक रु ६० हजार आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।

चेतना र शिक्षाको विकाससंगै महिला आफै सक्रिय भएर आफ्नै नाममा व्यवसाय दर्ता गराउन थालेका हुन् । महिलाको नाममा फार्मदर्ता गर्ने कृषकको सङ्ख्या बढ्दै गएको जिल्ला पशुसेवा कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका पशु चिकित्सक डा उत्तम आचार्यका अनुसार गाई र भैंसीफार्म १४, बाख्रा फार्म ३, कुखुराफार्म २२ र बङ्गुरफार्म एक गरी जम्मा ४० वटा फार्म महिलाको नाममा दर्ता भएको छ । जिल्लामा गाई र भैँसीफार्म ८७, बाख्राफार्म ७७, कुखुराफार्म १३९ र बङ्गुरफार्म ५३ वटा गरी जम्मा ३५६ वटा व्यावसायिक पशुफार्म सञ्चालनमा रहेका छन् । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको