Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य शुरू

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १२ : १५ मा प्रकाशित

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य शुरू

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य शुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ संक्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र शुरू भएको हो ।

१११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा पाएको भारतीय कम्पनी भोइथ इण्डियाले धेरै लामो समयपछि दक्ष जनशक्ति उपलब्ध गराएलगत्तै उपकरणको जडान अगाडि बढेको आयोजनाका प्रमुख सत्यराम ज्याख्वाले बताएका छन् ।

उपकरण जडान गर्न करीब एक वर्षको समयावधि लाग्ने र सन् २०२२ सम्ममा आयोजनाले विद्युत् उत्पादन गर्ने कार्य तालिका रहेको उनले जानकारी दिए।     
     
सन् २०१३ बाट शुभारम्भ भएको सो आयोजनले विद्युतगृहमा पानी पठाउने ४ हजार १८५ मिटर लामो हेडरेस सुरूङ एवं विद्युत् गृह निर्माणको संरचना निर्माण गरिसकेको छ । विद्युतगृहमा पानी लैजान भोटेकोशीको बाँध बाँध्ने कामसमेत निर्माण सम्पन्न गरी पानी बालुवा थिग्य्राउने भूमिगत डिसेण्डर पोखरी भने निर्माणको चरण अन्तिम चरणमा रहेको बताइएको छ ।

गतहप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्थलगत निरीक्षण एवं छिटो कार्य सम्पन्न गर्ने निर्देशनपश्चात उपकरण जडानका लागि भोइथ इण्डियाले दक्ष जनशक्ति उपलब्ध गराएको बताइन्छ ।

उनले गतहप्ता निर्माणाधीन आयोजनाको निर्माणस्थलबाटै आआफ्नो जिम्माको काम छिटो सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएलगत्तै कोभिडको डरले सुस्ताइरहेका ठेकेदार कम्पनीका जिम्मेवार व्यक्ति पुनःजागरुक भएको आयोजनाका प्राविधिक बताउँछन् ।

उपकरण जडानका लागि ४० जनाभन्दा बढी जनशक्तिले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म काम गरिरहेका छन् । आयोजनाको सर्चटैङ्क भने भित्रिभागबाट निर्माण भइरहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको