Like us!
Follow us!
Connect us!
Watch us!
आइतबारदेखि सेयर बजार खुल्ने

अर्थ मन्त्रालयले सेयर दलाललाई भन्यो बजार प्रभावित नपार

शुक्रबार, १६ असार २०७४, १७ : ०५ मा प्रकाशित

अर्थ मन्त्रालयले सेयर दलाललाई भन्यो बजार प्रभावित नपार

अर्थ संसार, काठमाडौँ– मुलुकको आर्थिक गतिविधिको मेरुदण्डको रुपमा रहेको धितोपत्र बजारलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न नेपाल धितोपत्र बोर्डले सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

मूल्य अभिवृद्धि करको विषयलाई लिएर नेपाल धितोपत्र दलाल व्यावसायी सङ्घले बिहिबार कुनै पनि कारोबार नगरेपछि बजार प्रभावित भएको थियो । सङ्घले भने आफूहरु कर तिर्न तयार रहेको तर कसरी तिर्ने भन्ने व्यवस्था मात्रै गरिदिन आग्रह गर्दै आएको जनाएको छ ।

धितोपत्रको दोस्रो बजार कारोबार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी आवश्यक निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता घिमिरेले बिहिबार धितोपत्र दलाल व्यावसायीले कुनै मूल्य अंकित नगरेको तथा कारोबार नगरेको भन्ने नेपाल स्टक एक्चेन्जबाट जानकारी गराइएको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेलाई तत्काल कारोबार हुने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सहायक प्रवक्ता घिमिरेको भनाइ छ ।

मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि बिहिबार कारोबार प्रभावित भएको थियो ।  बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको थियो ।

सङ्घका प्रतिनिधि नरेन्द्रजङ्ग सिजापतिले आफूहरू कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको र आफूहरु सम्वादका माध्यमबाट निष्कर्ष निकाल्न तयार रहेको बताउनुभयो ।

महालेखा परीक्षकको कार्यालयले आव २०६९/७० देखि हालसम्मको कारोबारको कर नतिरेको भन्दै बेरुजुमा राखेको छ । बेरुजुको बारेमा जानकारी प्राप्त हुने वित्तिकै अर्थ मन्त्रालयले  आन्तरिक राजस्व विभाग मार्फत  नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न केही दिन अगाडि पत्राचार गरेको थियो ।

सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरूलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको बरु पश्चगामी निर्णय भएको सङ्घका प्रतिनिधि सिजापतिको भनाइ छ ।


अर्थ मन्त्रालयले भने करको विषयमा प्रष्ट निर्णय गर्न र बजार प्रभावित हुने कुनै पनि काम नगर्न नगराउन बोर्डलाई ध्यानाकर्षण गराएको छ । राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले आजदेखि कार्यभार सम्हाल्नु भएको सन्दर्भमा विवाद समाधान गर्न सबै पक्षसँग सार्थक छलफल हुने विश्वास सम्वद्ध पक्षले लिएको छ ।

स्टकका महाप्रबन्धक सिताराम थपलियाले सङ्घका प्रतिनिधिसँग समस्या समाधानको सन्दर्भमा छलफल भएको जानकारी दिनुभयो । उहाँले बजार प्रभावित पार्ने काम नगर्न आग्रह गर्दै करका विषयमा के गर्ने भन्ने बारेमा अर्थ मन्त्रालयले आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो ।  उहाँले आइतबारदेखि बजार खुल्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको