नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ । विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालको भनाइ छ ।
पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।
यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको डा. लालको भनाइ छ ।
नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने निर्देशक डा. लालले बताए ।
नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।
पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘विगतमा टाइफाइड हुँदा दिइने एन्टिबायोटिकले अहिले काम गर्न छोडिसक्यो । नयाँ नयाँ एन्टिबायोटिक दिनुपर्ने अवस्था छ । खोपले गर्दा धेरै सुरक्षित हुनेछ ।’ निर्देशक डा. लाले भने ।
यो खोप गाभीले निःशुल्क रुपमा उपलब्ध गराएको हो । खोप अभियान सम्पन्न भएपछि यो राष्ट्रिय खोप अभियानमा समावेश गरिने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए ।
खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने दाहालको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ । ‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन् । त्यसका लागि खोप लगाइसकेपछि आधा घण्टासम्म निगरानीमा राख्छौं ।’ दाहालले भने ।
यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैं ठीक भएर जाने उनको भनाइ छ । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने दाहालको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस