Like us!
Follow us!
Connect us!
Watch us!

१३ अर्ब बढीको हकप्रद शेयर आउँदै, कुन कम्पनीको कति ?

शनिबार, ०७ साउन २०७४, १६ : ४७ मा प्रकाशित

१३ अर्ब बढीको हकप्रद शेयर आउँदै, कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं– विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ ।

ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक रहेका छन् ।

यस्तै प्रभु बैंकले १० बराबर चारका दरले रु दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।

यस्तै अपि पावर कम्पनीले २१ करोड कित्ता हकप्रद शेयर जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स कम्पनी रहेका छन् भने एक बीमा कम्पनी रहेको छ ।

‘क’ वर्गकै बैंक सिभिलले पनि १० बराबर चारका दरले रु दुई अर्ब सात करोड ४० लाख ८८ हजार ६७५ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ । यस्तै बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण शेयर र थप शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

शेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन् । कुल १८ कम्पनीले रु पाँच करोड ६२ लाख तीन हजार ८५ कित्ता साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिइएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो ।

तीमध्ये रु तीन अर्ब २९ करोड १४ लाख २९ हजार बराबरको तीन करोड २९ लाख १४ हजार कित्ता साधारण शेयर र एक करोड ७० लाख कित्ता थप निष्कासन (एफपिओ)  का लागि निवेदन परेको छ ।

आकर्षण जलविद्युत्को शेयरमा यस्तै जलविद्युत् कम्पनीले पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिने क्रम पछिल्लो दिनमा बढ्दै गएको छ ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्यरुपमा साधारण शेयर दिनुपर्ने नीतिगत व्यवस्थापछि प्रवद्र्धकले धमाधम शेयर दिन लागेका हुन् ।

शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर निष्कासनका लागि निवेदन दिएको छ ।

गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयवासीलाई शेयर दिने भएको छ ।

यस्तै राधी विद्युत् कम्पनी लिमिटेडले रु सात करोड ६४ लाख ५५ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । त्यस्तै बुटवल पावर कम्पनी लिमिटेडले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

साधारण शेयर नै जारी नगरी एफपिओ जारी गर्न लागेको भन्दै सो कम्पनीको आलोचनासमेत हुने गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागार्इं जलविद्युत् आयोजना र यस क्षेत्रको लगानीप्रति नागरिकको चासो बढेका कारण पनि आकर्षण बढेको प्रतिक्रिया दिनुहुन्छ ।

पूँजी बढाउन बैंकको दौड

उता बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडले पूँजी बढाउन संस्थापक एफपिओ निष्कासन गर्ने जनाएको छ । बैंकले ६१ लाख ५८ हजार कित्ता एफपिओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

त्यस्तै एनएमबी बैंकले चुक्ता पूँजी बढाउन एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्कासनका लागि यसअघि नै आवेदन दिएको हो । चुक्तापूँजी रु आठ अर्ब बढाउन एफपिओ निष्कासन गर्न लागेको बैंकले जनाएको छ ।

यसैगरी मेघा बैंक लिमिटेडले १० बराबर छ अनुपातमा रु दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ को हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।

यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।

नेपाल ग्रामीण विकास बैंकले पनि पूँजी बढाउने दौडमा रहेको छ । सो बैंकले नौ लाख ७५ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ । उता प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले छ लाख ५९ हजार ५६५ कित्ता एफपिओका लागि आवेदन दिएको छ । तर एफपिओको मूल्य भने निर्धारण हुन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको