Like us!
Follow us!
Connect us!
Watch us!

क्यान्सरपीडितका लागि रु ३५ लाखको कोष

सोमबार, ०९ साउन २०७४, २१ : ०९ मा प्रकाशित

क्यान्सरपीडितका लागि रु ३५ लाखको कोष

अर्थ संसार, काठमाडौँ– शैलकुमार उपाध्याय एण्ड करेन बास ट्रष्टद्वारा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स) वीर अस्पतालमा रु ३५ लाखको अक्षय कोष स्थापना गरिएको छ ।

अर्बुद रोग लागेर उपचार गर्न समस्यामा परेका विपन्न तथा गरिब परिवारका बिरामीलाई केमोथेरापी प्रदान गर्न कोषमा जम्मा भएको वार्षिक ब्याजबाट सहयोग गरिनेछ । विदूषी राणाले आफ्ना ठूलोबुबा शैलकुमार उपाध्याय र उहाँकी प्रेमिका करेन बासको सम्झनामा तीन महिनाअघि ट्रष्ट स्थापना गर्नुभएको थियो । उहाँ ट्रष्टका ट्रष्टी पनि हुनुहुन्छ ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले आज न्यान्सका उपकुलपति डा गणेश गुरुङलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभयो । पूर्वस्वास्थ्यमन्त्री थापाले उपाध्यायले अमेरिकामा बसेर ‘एलाइन्स फर डेमोक्रेसी’ अभियानमार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेको सम्झना गर्नुभयो ।

“नेपालका प्रजातान्त्रिक आन्दोलनका अभियन्तालाई पनि उहाँले सहयोग गर्दै आउनुभएको थियो, पुराना प्रजातान्त्रिक व्यक्तित्वले आज पनि उहाँलाई सम्झनुहुन्छ”– उहाँले भन्नुभयो ।

आफू मन्त्री हुँदा क्यान्सरका लागि सहयोग रकम बढाउन खोजेको भए पनि चिकित्सकको सल्लाहमा क्यान्सर प्रोटोकल बनाइएको पूर्वमन्त्री थापाको भनाइ छ ।

न्याम्सका उपकुलपति डा गणेश गुरुङले वीर अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतको उपचार निःशुल्क हुने र बाँकी बिरामीले कम शुल्कमा उपचार सेवा प्राप्त गर्ने गरेको उल्लेख गर्नुभयो । अर्बुदको उपचारलाई अझ स्तरीय बनाउन विश्वकै उत्कृष्ट टोमो थेरापी मेसिन ल्याउन प्रक्रिया शुरु भइसकेकाले आगामी चार महिनाभित्र मेसिन अस्पतालमा आइसक्ने उपकुलपति गुरुङले जानकारी दिनुभयो ।

अर्बुदले स्वयं बिरामीलाई मात्र नभई सिङ्गो परिवारलाई पनि विक्षिप्त बनाउने भएकाले महँगो उपचारका कारण उपचार नपाई कसैले ज्यान गुमाउन नपरोस् भनी कोष स्थापना गरेको ट्रष्टी राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूलोबुबा उहाँकी प्रेमिका स्व बासको छातीको क्यान्सरबाट मृत्यु भएपछि गहिरो शोकमा पर्नुभयो, त्यही पीडाले बासको मृत्यु भएको नौ महिनामै उहाँको पनि मृत्यु भयो, यो सहयोगले एक जनाको मात्र जीवनरक्षा भएमा उहाँ खुशी हुुनुहुनेछ भन्ने लागेको छ ।”
‘स्वस्थ जीवन कार्यक्रम’

नसर्ने रोगको बढ्दो जोखिम न्यून गर्न आयुर्वेद विभागले ‘स्वस्थ जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले नमूनाका रुपमा विभागका योग केन्द्र रहेका २५ जिल्लामा यसै वर्षदेखि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “हाम्रो जीवनशैली र बदलिँदो बानी व्यवहारले नसर्ने रोग बढ्दै गएकाले उक्त कार्यक्रममार्फत योगाभ्यासलगायत पञ्चकर्मका विषयमा जानकारी दिइनेछ, जसका लागि केन्द्रले सदस्य बनाएरै काम प्रशिक्षण दिनेछ”, उहाँले भन्नुभयो ।

व्यस्त दिनचर्या, असन्तुलित खाना, व्यायाम नगर्ने बानीका कारण मानिस नसर्ने रोगका पीडित भइरहेकाले स्वस्थ रहन योग गर्नुपर्ने कारणलगायत व्यवस्थित खानपानबारे जनतालाई जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपालमा पछिल्लो तथ्याङ्कानुसार ६० प्रतिशत बढी मानिसको मृत्यु नसर्ने रोग अर्बुद, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मिर्गौला , हृदयाघातजस्ता रोगबाट हुने गरेको पाइएको छ । विभागले उक्त कार्यक्रम सफल भएमा सबै जिल्लामा कार्यक्रम विस्तार गरिने जनाएको छ । उक्त कार्यक्रमका लागि रु ४५ लाख बजेट छुट्याइएको महानिर्देशक डा उपाध्यायले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको