अर्थ संसार, मोरङ - केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ ।
उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला रु कसैले यकिन गर्नै सक्दैनथ्यो । नहरको मुहानै थुनिए पनि धेरै ठाउँका गाउँलेले नहर काटेर बाढीको पानी हालेपछि क्षति बढी भएको हो ।
कुल ६० क्युमेक्स पानी बग्नसक्ने क्षमताको मुख्य नहरमा पानी बढी भएपछि लोहोन्द्रा खोलाको १५३ मिटर लामो पुल नै भत्काइदिएको हो ।
आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठकाले पुल बनाउन कम्तीमा रु ४१ करोड लाग्छ भन्नुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक अध्ययन गर्दा रु ८० करोडको क्षति भएको अनुमान गरेका छौ” । सबै क्षतिको विवरण आएपछि मूल्य बढ्न सक्छ, ।
आयोजना प्रमुख श्रेष्ठकाअनुसार सुनसरीको चतरादेखि मोरङको केरौनासम्म गरी मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनी भन्ने स्थानमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । त्यही स्थानमा १५३ मिटर ‘साइफन’ छ । बाढीले साइफन र मास्तिर खोलाको पुल भत्काएका कारण क्षति ठूलो देखिएको हो ।
‘महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,उहाँले भन्नुभयो, झुम्कादेखि उत्तर मुख्य नहरको दुई ठाउँमा मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए ।
यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर बाढी र खोल्साखोल्सीको पानी नहरमा मिसाएपछि ठूलो क्षति भएको हो ।
‘धानवालीमा पानी चाहिन्छ , उहाँले भन्नुभयो, ‘यसका लागि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अस्थायी मर्मत भइरहेको छ ।’
आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लामा ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको श्रेष्ठको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस