Like us!
Follow us!
Connect us!
Watch us!

पद्नु र हेर्नुहोस शुक्रबार दिनभरको खबर (भिडियो)

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, २० : ५१ मा प्रकाशित

१. अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ० दशमलव ४२१ प्रतिशत नगद गरी कुल ८ दशमलव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

२. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

३. खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी) ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिटिलर ११ रुपियाँ, पेट्रोल प्रतिलिटर २ रुपियाँ र हवाई इन्धन प्रतिलिटर ६ रुपियाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ ।

४. अटो व्यवसायीको छाता संगठन अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) ले आन्दोलनको घोषणा गरेको छ ।  लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्ध छ। यसले व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरु आन्दोलनमा जाने भएका हुन्।

५. नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ लाख वा सो भन्दा बढी रकमको विदेशी मुद्रा नगदमा सटही कारोबारको रिपोर्टिङ मागेको छ। यसअघि १० लाखसम्मको कारोबार र ५ लाखसम्मको विदेशी मुद्रा सटहीको विवरण माग्ने गरेको थिएन। तर, अब भने एक दिनमा कुनै खातामा १० लाख वा सो भन्दा बढी रकमको नगद जम्मा वा खर्चको कारोबार राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले  गैरकानुनी लेनदेन रोक्न कडाइ गर्ने भएकाे हाे ।

६. निर्माण क्षेत्रका बस्तु आयातका लागि एलसी खोल्दा मार्जिन नचाहिने भएकाे छ । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुको आयातलाई सहजीकरण गरेको हाे । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुलाई त्यो सूचीबाट हटाएको जनाएको छ। अब यी वस्तु आयात गर्दा आयातकर्ताले सुरुमै बैंकमा पैसा भुक्तानी गर्नु नपर्ने भएकाे छ ।

७. म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे साधारण सभा पुस ११ गते, कम्पनीको रजिष्टर्ड कार्यालय का.म.न.पा ३ बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

८.  राष्ट्र बैंकको सर्वेक्षण अनुसार मूल्यवृद्धि १२ प्रतिशत पुग्ने भएकाे छ । राष्ट्र बैंक आफैँले गरेको एक सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखाइएको हो । चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको थियो । तर, प्रथम त्रैमासमै ८ दशमलव ५ प्रतिशत पुगिसकेको छ ।

९.     राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल नहटाउन काठमाडौं महानगरपालिकालाइ निर्देशन दिएकाे छ ।महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरुलाई हटाउन डोजर चलाएपछि आयोगले महानगरसहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको हाे ।

१०. विवाहको सिजनमा सुनको भाउ तोलाकाे १ लाख नजिक पुगेकाे छ । शुक्रबार एकैदिन सुनकाे मूल्य ताेलामा एक हजार रूपैयाँले बढेर प्रतिताेला ९९ हजार १०० रुपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ४५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको