अर्थ संसार, काठमाडौँ– सरकारको कारण पछिल्लो समय साल्ट टे«डिङ कर्पोरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ ।
सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्को मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पोरेशनलाई करोडौँ घाटा हुन पुगेको हो ।
कर्पोरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पोरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिनुभयो ।
दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पोरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पोरेशनले मौज्जादसमेत गरेको छ ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिनुभयो ।
कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव कुमुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुको रुपमा कर्पोरेशनले काम गरेको बताउनुभयो । पुरस्कार र सम्मान कार्यक्रममा कर्पोरेशनद्वारा स्थापित २०७४ सालको बाल हितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बाँसबारीलाई प्रदान गरिएको थियो ।
मदिराका खेर गएका बोतलबाट काठमाडौँको सुन्दरीजल र गोरखामा आवास निर्माण गरी हाल ६० जना अनाथ बालबालिकालाई सो केन्द्रले आश्रय दिइराखेको छ । गरिब तथा अनाथ बालबालिकाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्पोरेशनले सो संस्थाका अध्यक्ष सुधामा कार्कीलाई रु ५० हजार नगदसहितको सम्मानपत्र प्रदान गरेको हो ।
यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट तेजबहादुर कुँवर ९अञ्चल कार्यालय धनगढी० र राजबहादुर लामा ९डिपो कार्यालय हुम्ला०, ईश्वरलाल श्रेष्ठ सेवा पुुरस्कारबाट ओमसिद्धि गुभाजु, सावित्री देवकोटा र कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो ।
अनङ्गमान छात्रवृत्तिबाट सुशील ढकाल, अनिश श्रेष्ठ र अबिनास पन्त तथा लोकमान छात्रवृत्ति प्रार्थना कुँवरलाई प्रदान गरिएको थियो । कर्पोरेशनमा २० वर्षभन्दा बढी सेवा गरेका ईश्वर आचार्य, ईश्वरा श्रेष्ठ, रामनरेश प्रसाद, कृष्णलाल चौधरी र मुगादेवी कट्टेललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस