Like us!
Follow us!
Connect us!
Watch us!

एकुमुलेसन फेजमा स्वेत गंगा हाइड्रो, ४०० को रेसिस्टेन्स ब्रेक भए ५०० सम्म पुग्नसक्ने

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : ३६ मा प्रकाशित

एकुमुलेसन फेजमा स्वेत गंगा हाइड्रो, ४०० को रेसिस्टेन्स ब्रेक भए ५०० सम्म पुग्नसक्ने

स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे ।

कम्पनीकाे परिचय :

स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड नेपाल सरकारको प्रचलित कम्पनी ऐन बमोजिम २०६१ फागुन १७ (२८ फेब्रुअरी २००५) मा काठमाडौं नेपालमा उद्योग विभागमा दर्ता भएको थियो । स्वेत गंगा हाइड्रोपावर सानिमा हाइड्रो ग्रुपको भगिनी संस्था हो । स्वेत गंगा हाइड्राेकाे स्थापना २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत योजनाको विकास र कार्यान्वयन गर्ने उद्देश्यले गरिएकाे थियाे । यो आयोजना रन अफ रिभर (RoR) प्रकारको आयोजना हो जुन रामेछाप, बागमती प्रदेश र ओखलढुङ्गा जिल्ला, प्रदेश १, नेपाल मा अवस्थित छ। ।

आयोजनाको सम्पूर्ण क्षेत्र लिखु नदीको दाहिने किनारमा रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा पर्दछ । तर, डाइभर्सनको बाँया छेउले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा पर्ने लिखु नदीको बाँया किनार छोएको छ । आयोजनाबाट उत्पादित विद्युत २३ किलोमिटर लामो, नयाँ खिम्ती सबस्टेसनमा १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

 

कम्पनीकाे सेयरधनीहरूकाे विवरण :

कम्पनीकाे संस्थापक सेयरधीहरूकाे विवरण यस प्रकारकाे छ :

तल्लो लिखु जलविद्युत आयोजनाकाे सम्पुर्ण विवरण :

यस कम्पनीद्वारा प्रवर्द्धित तल्लो लिखु जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सफलतापूर्वक सम्पन्न भई यहि कार्तिक १९ गतेबाट व्यापारिक उत्पादन शुरू भएको छ । यस आयोजनाको अनुमानित निर्माण लागत ६ अर्ब ३७ कराेड २० लाख रूपैयाँको वित्तीय व्यस्थापन भइसकेको छ, जस अनसार २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत बैंक ऋण लगानी रहेको छ । लक्ष्मी बैंक लि. को अगुवाईमा ४ बैंकहरू क्रमशः कुमारी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडसँग भएको सहवित्तीयकरण कर्जा सम्झौता बमोजिम स्वीकृत ४ अर्ब ७७ कराेड ९० लाख रूपैयाँ कर्जा रकम उपयोग भइसकेको छ ।

कम्पनीकाे वित्तीय अवस्था :

कम्पनीले हालै मात्र चालु आर्थिक वर्ष २०७९/८० काे दाेश्राे त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे थियाे । उक्त वित्तीय विवरण अनुसार दाेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी एक करोड २७ लाख ८ हजार रुपैयाँ खुद नाेक्सानमा रहेकाे छ । गत वर्षकाे यसै अवधिमा कम्पनी १ करोड १८ लाख ५३ हजार रुपैयाँ नाेक्सानमा रहेकाे थियो । समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ५५ लाख ९१ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेकाे छ । दाेश्राे त्रैमाससम्म कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ८१ पैसाले ॠणात्मक रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ९२ रूपैयाँ ९ पैसा रहेको छ ।

 

सेयर बजारमा स्वेत गंगाकाे स्थान :

सेयर बजारमास्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १ कराेड ५९ लाख ३० हजार कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य ३ सय ९२ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ४ सय ११ रूपैयाँ ६० पैसा र न्युनतम २ सय २ रूपैयाँ १० पैसामा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य २ सय ९३ रूपैयाँ ४५ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेको छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य केही घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ४ सय ११ रूपैयाँ ६० पैसा रहेकोमा अहिले यसको मूल्य ३ सय ९२ रूपैयाँ छ ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल कम्पनीकाे अध्यक्षमा अनुप कुमार उपाध्याय रहेका छन् । अन्तराष्ट्रिय स्तरकाे अध्ययन गरेका उनीसँग यस क्षेत्रमा कार्य गरेका लामाे अनुभव छ ।

कम्पनीकाे कार्यकारी सञ्चालकमा डा. सुवर्ण दास श्रेष्ठ, सञ्चालकमा विद्यावारिधी सिग्देल, कन्हैया कुमार मानन्धर, शान्ति निराैला (ओझा), भरत रेग्मी र दिलिप श्रेष्ठ रहेका छन् । 

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ स्वेत गङ्गा ? 

स्वेतगङ्गा हाइड्रोपावर कम्पनीको सेयर लगातार रुपमा एकुमुलेट हुँदै गएको देखिन्छ। कम्पनीको डेली चार्टमा एकुमुलेसन, डिस्ट्रिब्युसन इण्डिकेटर लगाएर हेर्दा २०० रुपैयाँको आसपास देखि नै यो कम्पनीको सेयर निरन्तर रुपमा एकुमुलेट हुँदै गएको देखिन्छ। अक्टोबर २० मा करिब २०० रुपैयाँको आसपास रहेको स्वेतगङ्गाको सेयरमूल्य करिब दुई महिनाको अवधिमा झन्डै दोब्बरले बढेर ४१० रुपैयाँभन्दा माथि पुगेको थियो। २२७७ को बिन्दुबाट नेप्सेमा गिरावट आउन थालेपछि स्वेतगङ्गाको सेयर मूल्य पनि घट्यो। अन्य कम्पनीहरुको तुलनामा यसको मूल्य खासै घटेन। ४१२ रुपैयाँबाट ३६४ रुपैयाँसम्म मात्रै घट्यो जुन ११% को गिरावट थियो। 

अहिले फेरी कम्पनीको सेयरमूल्य बढ्दो क्रममा रहेको देखिन्छ। आईतबारको दिन नेप्सेमा २६ अंकको गिरावट आउँदा पनि यो कम्पनीको सेयरमूल्य भने बढ्यो। मूल्यमात्रै बढेन, कारोबार रकममा पनि उच्च वृद्धि देखियो। यो कम्पनीको सेयरमूल्य ४०० माथि स्टेबल हुनसकेको खण्डमा पहिलो टार्गेट यसअघिको उच्चतम बिन्दु ४१२ हुने देखिन्छ भने सो बिन्दु पनि ब्रेक भएको खण्डमा ५०० रुपैयाँको मनोवैज्ञानिक टार्गेट हुने देखिन्छ। 

इन्डिकेटरहरु हेर्दा कस्तो देखिन्छ ? 

RSI
डेली चार्टमा आरएसआई ५७ को लेभलमा छ। ५० भन्दा माथिको आरएसआईले बजार बलियो हुँदै गएको संकेत गर्दछ। आगामी दिनमा आरएसआई ६० भन्दा माथि लाग्न थालेमा सेयरमूल्य बढ्ने देखिन्छ। 

एमएसीडी

स्वेत गङ्गाको सेयरमूल्य ४०० बाट तल लाग्दै गर्दा एमएसीडीमा सेल सिग्नल आएको थियो। अहिलेसम्म एमएसीडीमा बाई सिग्नल आएको छैन। नेगेटिभ एरियामा रहेका हिस्टोग्रामहरु छोटा छोटा बन्दै गईरहेका छन् जसले बिक्रिकर्ताको तुलनामा खरिदकर्ताहरु बलिया बन्दै गईरहेको देखाउँदछ। यदि आगामी दिनमा एमएसीडिमा बाई सिग्नल देखियो भने स्वेतगङ्गाको सेयरमूल्य बढेर जाने देखिन्छ। 

बोलिंगर ब्याण्ड: 

यो कम्पनीको सेयरमूल्य पछिल्लो समय साइडवेजमा चलिरहेको देखिन्छ। डेली चार्टमा बोलिंगर ब्याण्डको मिडल ब्याण्ड भन्दा माथि क्यान्डल बनिसकेपछि अपर ब्याण्डलाई टेस्ट गर्न जाने सम्भावना बढी रहन्छ जुन अहिले ४०३ को आसपासमा छ।  

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा स्वेत गंगा हाइड्रोपावरलाई हेर्दा लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् । कम्पनीकाे व्यवस्थापकीय पक्ष बलियाे रहनुका साथै कम्पनीकाे भावी याेजना पनि स्पष्ट छन् । कम्पनीकाे प्राेजेक्टबाट पनि छाेटाे अवधिमै राम्राे आम्दानी भएकाे देखिन्छ ।   

प्राविधिक रूपमा हेर्दा पनि कम्पनी एकदमै बलियाे सपाेर्ट जाेनमा रहेकाे देखिन्छ । प्राविधिक रूपमा हेर्दा कम्पनीकाे सबै सूचकहरू बुलिस ट्रेन्डमा रहेका छन् ।

पछिल्लाे समय सेयर बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । हाइड्राेपावरमा लगानी गर्न चाहाने लगानीकर्ताहरूले याे हाइड्राेपावरमा लगानी गर्न पनि सुरक्षित नै देखिन्छ । 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको