Like us!
Follow us!
Connect us!
Watch us!

८०४ भित्तेपात्रोलाई स्वीकृति

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १२ : ४० मा प्रकाशित

८०४ भित्तेपात्रोलाई स्वीकृति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो ९क्यालेण्डर०लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिएका हुन् । 

सरकारले जारी गरेको समितिको गठन आदेश विसं २०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सो बमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो । गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृति लिएर प्रकाशन गरिएको थियो । 

समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी उनले दिए । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयसहित सरोकार भएका निकायका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । 

उक्त समितिअन्तर्गत पञ्चाङ्गकार मुरारीराज पाण्डेको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको र सो समितिमा संस्कृति र गृह मन्त्रालयका शाखा अधिकृत पनि सदस्य रहेका छन् । समिति र उप समितिले अनुगमन गरी स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही गर्न लागेको हो । समितिले आजैदेखि अनुगमन सुरु गरेको जनाइएको छ ।

स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा तिथि, मिति, चाड पर्वलगायतमा दोहोरोपन आउन थालेकाले सरकारले यस्तो व्यवस्था गरेको हो । समितिले अनलाइनबाटै भित्तेपात्रो प्रकाशनका लागि फारम भरेर स्वीकृति लिन सक्ने व्यवस्था पनि गरेको छ ।-रासस/File Photo
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको