अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्कै व्यक्तिकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई झूटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो।
आयोगले मेयर सिंहलाई मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको माग गरेको छ। यस प्रकरणमा नागरिकता लिएकी युवतीकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
गलत छानबिन प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारी पुस्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार मानेर मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार मेयर राजेशमान सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी भनी झुटा विवरण पेस गरेका थिए । उनले वीरगञ्ज महानगरपालिका वडा नं. ३ बाट रुविनाको जन्मदर्ता बनाउन सूचकको रूपमा काम गरेका थिए । सोही जन्मदर्ताको आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट रुविनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन् । छानबिनका क्रममा सरकारी निकायको कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र कागजात लुकाउने जस्ता गैरकानुनी कार्य भएको भेटिएको अख्तियारले जनाएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत दोषीलाई बचाउने गरी गलत प्रतिवेदन तयार पारेको अख्तियारले जनाएको छ । समितिका तत्कालीन संयोजक (उपसचिव) पुस्कर राना र सदस्य (शाखा अधिकृत) परशुराम पोखरेलले वास्तविक तथ्य लुकाएर र प्रमाणहरू नष्ट भएको भन्दै गलत प्रतिवेदन बुझाएको अख्तियारको भनाइ छ । आयोगले उनीहरू सबैलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवानाको सजायको माग गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस