सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि नेपालले जितेको छ । आज भएको खेलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गर्दै उपाधि उचालेको हो ।
फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा ६५ रन बनाएर आउट भए । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट रहे । हङकङका लागि एहसान खान र आयुष शुक्लाले १–१ विकेट लिए । नेपाल कीर्तिमानी जित हासिल गर्नबाट भने चुकेको छ । १८९ रनको लक्ष्य पूरा गरेर जित निकालेको अवस्थामा नेपालका लागि सर्वाधिक सफल रन चेज हुने थियो । यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको सर्वाधिक सफल रन चेज थियो ।
अंशुमन राथ र शाहिद वासिफले शानदार अर्धशतक बनाएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले नेपालविरुद्ध बलियो योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको हो । हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रन बनाए । शिव माथुरले २६ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए । एक समय १८ ओभरमा १७९–५ को अवस्थामा भएपनि हङकङले अपेक्षित फिनिसिङ भने गर्न सकेन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस