Like us!
Follow us!
Connect us!
Watch us!

सुस्ताएको पर्यटनमा सुधार: भक्तपुरमा नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ०८ : २८ मा प्रकाशित

सुस्ताएको पर्यटनमा सुधार: भक्तपुरमा नौ महिनामा रु १३ करोड ४४ लाख शुल्क सङ्कलन

कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ ।

भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको अवलोकनका लागि मात्र आर्थिक वर्ष २०७९र८० को नौ महिनामा एक लाख १६ हजार आठ सय १२ विदेशी पर्यटकको आगमन भएको छ । चालु आवको चैतसम्म भक्तपुरको अवलोकनमा आउने पर्यटक बढ्दै गएको र यस अवधिमा एक लाखभन्दा बढी पर्यटक आउँदा पर्यटन व्यवसायमा आशा पलाएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

उनले भने , “चालु आवको चैतसम्म भक्तपुरमा ६७ हजार सात सय जना गैरसार्क राष्ट्रका र ४९ हजार एक सय १२ जना चीनसहितका सार्क राष्ट्रका पर्यटकको आगमन भएको छ ।”

गत आव २०७८र७९ को सोही अवधिमा भक्तपुर नगर क्षेत्रका सम्पदाको आवलोकनका लागि गैरसार्क राष्ट्रबाट ११ हजार चार सय ४० र सार्क राष्ट्र तथा चीनबाट ११ हजार सात सय २७ गरी कुल २३ हजार एक सय ६७ पर्यटकको आगमन भएको थियो ।

गत आवको समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा गैरसार्क राष्ट्रबाट ५६ हजार दुई सय ६० र चीनसहितका सार्क राष्ट्रबाट ३७ हजार तीन सय ८५ गरी कुल ९३ हजार छ सय ४५ बढी पर्यटकको आगमन भएको छ । यस अवधिमा भक्तपुर नगरपालिकाले गत वर्षको नौ महिनामा भन्दा रु ११ करोड १४ लाख ३१ हजार पाँच सय बढी पर्यटन शुल्क सङ्कलन गरेको छ  । 

गत आव २०७८र७९ को समीक्षा अवधिमा नगरपालिकाले कुल रु दुई करोड ३० लाख २३ हजार पाँच सय पर्यटन शुल्क सङ्कलन गरेकामा चालु आवको यो नौ महिनामा नगरपालिकाले गैरसार्कका पर्यटकबाट रु १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु दुई करोड ४५ लाख ५६ हजार गरी कुल रु १३ करोड ४४ लाख ५५ हजार पर्यटन शुल्क सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग नेरु एक हजार पाँच सयबाट रु तीन शुल्क वृद्धि गरि रु एक हजार आठ सय कायम गरी शुल्क सङ्कलन गर्दै आएको हो ।

भक्तपुर नगरमा हाल दैनिक पाँचदेखि छ सयको हाराहारीमा विदेशी पर्यटक आगमन हुने गरेको छ । भक्तपुर घुम्न प्रायः भारत, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका पर्यटकको आगमन बढ्न थालेको नगरप्रमुख प्रजापतिले बताए  ।

भक्तपुर अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका विभिन्न पेसा व्यवसायीमा पनि आर्थिक गतिविधि बढ्न थालेको छ । भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा हाल यो एक वर्षमा १४ वटा सम्पदाको पुनःनिर्माण र जीर्णोद्वार सम्पन्न गरेको र अन्य दर्जनौँ सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार जारी राखेको बताएको छ । 

अघिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले एक सय २४ वटा सम्पदा जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको