Like us!
Follow us!
Connect us!
Watch us!

‘राष्ट्रिय प्रतिबद्धता’ मा पर्यटन:धार्मिक पर्यटनदेखि पोखरा–भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा जोड

अर्थ संसार

बुधबार, ०२ बैशाख २०८३, ०८ : १३ मा प्रकाशित

‘राष्ट्रिय प्रतिबद्धता’ मा पर्यटन:धार्मिक पर्यटनदेखि पोखरा–भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा जोड

सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा पर्यटन तथा नागरिक उड्डयन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा अघि सारिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त ६ दलका घोषणापत्र र प्रतिबद्धताहरू समेटेर तयार गरिएको यस दस्तावेजले पर्यटनलाई उच्च आम्दानी र रोजगारी सृजनाको क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

पर्यटक संख्या र खर्च वृद्धि लक्ष्य
नेपाल भित्रिने पर्यटकको संख्या र औसत बसाइ अवधि बढाउँदै पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्य निर्धारण गरिएको छ। गुणस्तरीय पर्यटन विकासका लागि प्रकृति, संस्कृति र समुदायलाई जोडेर नयाँ पर्यटन ‘इकोसिस्टम’ निर्माण गरिनेछ।

धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन
पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, देवघाट लगायत धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरूमा विशेष पूर्वाधार निर्माण गरी ती क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ। काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदा र वास्तुकलालाई पनि पर्यटनसँग जोडेर प्रवर्द्धन गरिने नीति लिइएको छ।

आरोग्य र समुदाय आधारित पर्यटन विकास
सन् २०२७ लाई “राष्ट्रिय आरोग्य वर्ष” का रूपमा मनाउँदै आरोग्य पर्यटनलाई प्रवर्द्धन गरिनेछ। स्थानीय संस्कृति, जीवनशैली, भेषभूषा र रैथाने खानपान समेटिएको होमस्टे तथा पर्यटन प्याकेज विकासमा जोड दिइनेछ।

साहसिक पर्यटन र नयाँ गन्तव्य विस्तार
सफा हिमाल र सुरक्षित आरोहण अभियान सञ्चालन गर्दै पर्वतारोहण पर्यटनलाई थप विस्तार गरिनेछ। नयाँ हिमालहरू आरोहणका लागि खुला गरिनेछ भने साल्पा सिलिचुङ, गोसाइकुण्ड, हलेसी, पाथिभरा लगायतका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ।

पर्यटन पूर्वाधार र निजी क्षेत्रको भूमिका
सार्वजनिक–निजी साझेदारीमार्फत होटल, रिसोर्ट, एडभेन्चर सेवा र इको–टुरिज्म विस्तार गरिनेछ। पर्यटन तथा आतिथ्यता सम्बन्धी तालिम कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिनेछ। अफ–सिजनमा पनि पर्यटक आकर्षित गर्न विशेष प्याकेज र कार्यक्रम ल्याइनेछन्।

नागरिक उड्डयन सुधार र हवाई सेवा विस्तार
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई छुट्टाछुट्टै निकायमा पुनर्संरचना गरिनेछ। हवाई सुरक्षा सुदृढ गर्दै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने योजना अघि सारिएको छ।

अन्तर्राष्ट्रिय उडान र ब्राण्डिङ
विश्वका प्रमुख शहरहरूसँग सिधा हवाई उडान विस्तार गर्दै नेपालको पर्यटन ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गरिनेछ। नयाँ गन्तव्यको विकास, आन्तरिक सुरक्षा सुदृढीकरण र बजार प्रवर्द्धनमार्फत नेपाललाई आकर्षक पर्यटन गन्तव्य बनाउने लक्ष्य राखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको