Like us!
Follow us!
Connect us!
Watch us!

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, ०८ : ०९ मा प्रकाशित

ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । 

ठमेलभित्र सिसी क्यामरा जडान गर्ने बारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले आज स्थलगत अवलोकन समेत गरेको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौँ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । “ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे आज काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ”, उनले भने ।

नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए । ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने उनको भनाइ छ ।

काठमाडौँभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई रु छ करोड आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सिसी क्यामरा खरिद गरी काठमाडौँभित्रका सिसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ । काठमाडौँ महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको