Like us!
Follow us!
Connect us!
Watch us!

विषादी मुक्त भान्सा बनाउने सपनालाई सत्यता बनाउदैँ ‘फ्रेसकेटीएम’

निकिता खनाल

विहीबार, २८ बैशाख २०८०, १५ : २८ मा प्रकाशित

विषादी मुक्त भान्सा बनाउने सपनालाई सत्यता बनाउदैँ ‘फ्रेसकेटीएम’

‘विषालु बन्दै भान्सा’
‘किसानका तरकारी बारीमै कुहिए’
‘मूल्य नपाएपछि सडकमै फालियो तरकारी’

समाचारका यस्ता हेडलाइन्स त पढ्नु भएकै होला ! तर, यसको समाधानतर्फ कतैबाट केहि काम भएको छ ? यस्ता समाचार र भोगाईले तपाईंलाई कति प्रभाव पार्याे थाहा छैन । तर, १५ वर्ष जापानमा अध्ययन गरेर फर्केका सन्दीप अधिकारीलाई भने यस्ता समाचार र भोगाईले निकै प्रभाव पार्याे । अनि जन्मीयो ‘फ्रेसकेटीएम’ ।

गत माघमा स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै किसानहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै चितवनमा तरकारी सडकमै फालेर आन्दोलन समेत गरे । भारतबाट आयात भएका तरकारी तथा फलफुलको विषादी परिक्षण लगायतका विषयमा पटक–पटक धेरै विरोध भए संसदमा समेत आवाज उठे । तर, न कुनै सरकारी निकायले यसको समाधान खोज्न तर्फ लाग्यो न कुनै संघ सस्था नै । त्यसको विपरित निरन्तर विषादी भएका तरकारी खान बाध्य छन् नेपाली जनता ।

विषादी मुक्त भान्सा बनाउने उदेश्यका साथ समस्यालाई व्यवसायमा रुपान्तरण गरेर आफ्नो घरपरिवार मात्र नभई सम्पूर्ण नेपालीलाई नै फ्रेस तरकारी उत्पादन गरि उपलब्ध गराउने उदेश्यका साथ स्थापना भएको हो ‘फ्रेसकेटीएम’ । लामो समय विदेशमा अध्ययन गरेर फर्केका युवाहरुको संयुक्त प्रयास हो ‘फ्रेसकेटीएम’ यसका सीइओ सन्दीप अधिकारी हुन् । सन्दीप लगायतको टिमले १० करोड लगानी गरी यो व्यवसाय सुरु गरेको थियो । ‘आफ्नै घरमा खाद्य वस्तु अझै तरकारी खान योग्य नदेखिसकेपछि खान योग्य तरकारी कसरी उत्पादन गर्न सकिन्छ भनेर समाधान खाज्दै गर्दा यो व्यवसाय सुरु गरेका हौँ,’सन्दीप भन्छन् । 

सन्दीपले भोगेको त्यो समस्या र फ्रेसकेटिएमले देखेको सपना 

लामो समय विदेशमा अध्ययनसँगै काम गरेका सन्दीप अधिकारी वैदेशिक बसाईँ पछि नेपाल आउँदा अन्य साथीहरुसँग विभिन्न जागिर र व्यवसायबारे धेरै नै छलफल गरे । व्यवसाय सञ्चालन गर्दा पनि समाजमा प्रभाव पार्ने किसिमकाे काम गर्नुपर्छ भन्ने विचार आएपनि उनीहरुमा के गर्ने भन्ने प्रश्न भने रहिरहन्थ्यो । यसैबीच आफ्नै घरमा खाद्य सामाग्री खान योग्य नलागिसकेपछि यही समस्यालाई नै समाधान खोज्नतर्फ सन्दीपको ध्यान पुग्यो । समाधान खोज्दै जाँदा समाधान त्यति सहज भने थिएन । सबैजनाको विचार र सोचाई पछि फ्रेस सामाग्री उत्पादन गर्नुपर्छ भनेर यसलाई नै व्यवसाय र भविष्य देखेर फ्रेसकेटीएमको जन्म भयो । 

नेपालका अधिकांश सामाग्री विदेशबाट नै आयात हुन्छ, जसमा धेरै जस्तो सामग्री विषादीयुक्त हुन्छ । कुनैपनि खाद्य पदार्थ खानको लगि धेरै पटक सोच्नुपर्छ । खाद्य सामग्री अन्तर्गत पनि तरकारी हाम्रो दैनिक खाद्य सामग्री हो, यस्तो अवस्थामा दैनिक तरकारीमा विषादी खाईरहेका नेपालीका लागि एउटा आसा र खान योग्य तरकारी उत्पादन गरि हरेक नेपालीलाई विषादीमुक्त तरकारी प्रदान गर्ने फ्रेसकेटीएमले सपना देख्यो । 

‘फ्रेसकेटीएम’ हरेक नेपालीको भान्सामा खान योग्य तरकारी पुर्याउने उदेश्यले सुरु भएको कम्पनी हो । २०२० मा दर्ता भएको यस कम्पनीले डेढ वर्षदेखि लगातार काम गर्दै आईरहेको छ । ‘फ्रेसकेटीएम’ खाद्य उत्पादनमा न्यून मात्रामा रासायनिक पदार्थ प्रयोग भएका तरकारी तथा फलफुल किसानबाट सिधै खरिद गरेर त्यसलाई खुद्रा बिक्रेता र तोकिएका स्थानमा सीधै उपभोक्तासम्म पुर्याउने मुख्य उदेश्यले सञ्चालनमा आएको थियो । यसले बिटुबि अर्थात बिजनेस टु बिजनेस मोडेलमा रहेर काम गर्छ । तर, उदेश्यसम्म पुग्नका लागि आएका विभिन्न समस्याहरुको हल गर्नका लागि बिटुसी अर्थात बिजनेस टु कस्टुमर मोडेलमा पनि काम गर्दै आएको छ । 

विषादीमुक्त खाद्य उत्पादनलाई जोड दिँदै गर्दा त्यसअन्तर्गत पनि विशेषगरी तरकारी उत्पादन गर्नु ‘फ्रेसकेटीएम’को प्राथमिक उदेश्य रहेको छ । कृषि उत्पादनमा उपभोक्ताले तिर्ने मूल्यको न्यून हिस्सामात्र उत्पादकसम्म पुगिरहेको अवस्थामा किसानबाट सीधै बिक्रेताले किन्दा किसानले प्राप्त गर्ने लाभ बढाउने र उत्पादनमा प्रोत्साहित गर्ने गरी यस कम्पनीले काम गरिरहेको छ । यसका लागि हालसम्म उपत्यकामा ५ वटा बिक्रीस्थल (आउटलेट) निर्माण गरिएको छ । अझै चोक तथा केही पायक पर्ने स्थानहरूमा केही रिटेल आउटलेट सञ्चालन गरी यसको आपूर्ति शृंखलामा ठूलो रूपान्तरण ल्याउन कम्पनीले काम गरिरहेको छ । हालको अवस्थामा फ्रेसकेटीएमसँग आवद्ध भएका खुद्रा पसलमा मात्र तरकारी पुग्ने व्यवस्था छ । 

भनिन्छ नी, "उदेश्य के लिनु उडी छुनु चन्द्र एक" हो यो कम्पनीले पनि यस्तै सपना देख्यो । जुन काम सिङ्गाे सरकारले गर्न सकेको छैन त्यही काम गर्ने हिम्मत राख्यो फ्रेसकेटीएमले । सुरुवाती चरणमा यो कम्पनीलाई किसानसम्म पुग्न निकै गाह्रो भयो । खान योग्य तरकारी हरेक भान्सामा पुर्याउने यसको प्रमुख लक्ष्य हो । सोही अनुरुप सपना पुरा गर्न निरन्तर लागिरह्यो, ‘फ्रेसकेटिएम’ । फ्रेसकेटिएम बिस्तारै किसानसम्म जोडिन पुग्यो । तर, किसानसम्म पुगेर मात्र यो कम्पनीको उदेश्य पुरा हुनेवाला थिएन् । त्यसका लागि आफ्ना समस्या मात्र होइन् किसानका समस्यापनि समाधान गर्नुपर्ने थियो । किसानका थुप्रै समस्या मध्य ‘फ्रेसकेटिएम’ले समाधान गर्नुपर्ने के थियो भने– गुणस्तरिय तरकारी उत्पादन गर्न नसक्नु र किसानले तरकारीको मूल्य नपाउनु ।

फ्रेस केटीएमले गरेको त्यो सङ्घर्ष

कम्पनीलाई उक्त समस्या हल गरेर किसानलाई तरकारी उत्पादन गर्न प्रेरित गर्न धेरै नै समय लाग्यो । यस कम्पनीलाई किसानसम्म पुग्न नै ८ महिना लाग्यो । ‘फ्रेसकेटिएम’ले हरेक भान्सामा खान योग्य तरकारी पुर्याउनका लागि किसानलाई जाँगरिलो बनाउनेसम्मै काम गर्न पर्यो । आइलागेका अनेक समस्यासँग जुध्दै व्यवसाय चलिरहेको छ । डेढ वर्षको व्यवसायीक यात्रामा उदेश्य अनुसार विषादी मुक्त तरकारी उत्पादन गर्नु र विषादी प्रयोग गरेपनि कति मात्रामा गर्ने भन्ने कुरा कायम गर्न यस कम्पनीले काम गरिरहेको छ । यो यात्रामा ‘फ्रेसकेटिएम’सँग ५ हजार भन्दा माथि किसान जोडिएका छन् । १० करोड लगानीमा सुरु भएको फ्रसकेटीएममा हालसम्म ४५ करोड लगानी भइसकेको सीइओ सन्दिप बताउँछन् । भक्तपुरमा रहेको ४५ टन क्षमताको गोदाम तरकारी भण्डारण गर्न अपुग भएकाले नैकापमा सोही क्षमताको अर्को गोदाम निर्माण गरी सञ्चालनमा ल्याएको र रजिष्ट्रार भएको कम्पनीको अहिले दैनिक आपुर्ती २० टन रहेको छ । कम्पनी यसलाई बढाउने योजनामा छ । जुन जिल्लामा तरकारीको उत्पादन बढी हुन्छ, त्यो जिल्लामा कम्पनीको कलेक्सन सेन्टर रहेको छ । काभ्रेको पाँचखाल, धादिङ चितवन लगायतमा कलेक्सन सेन्टर रहेको छ । फ्रेसकेटीएमले रौतहट जील्लाको वृन्दावन नगरपालीकामा ७० विगा क्षेत्रफलमा अबको ३ महिनापछि खान योग्य तरकारकारी उत्पादन सुरु गर्नेभएको छ । सङ्कलन कक्षबाट ‘इनअफटिम’लाई ‘अर्डर’ पठाउने र उताबाट कति उत्पादन भएको छ, त्यो अनुसार आपुर्ती हुन्छ । 

हाल कम्पनीले गरिरहेको काम

कम्पनीको ‘इनहाउसटिम’ले फिल्ड सर्भे गरेर कृषकहरूबाट डाटा सङ्कलन गर्छ । दर्ता भएका ५ हजार किसानहरु उक्त टोलीसँग निरन्तर सम्पर्कमा रहन्छन्, जसले किसानहरुमा भएका समस्या समाधान गर्न मद्दत गर्दछ । जब उत्पादीत तरकारी तयार हुन्छ, खरिद टोली खेतमा पुग्छ र उत्पादन संकलन गर्दछ । कृषकहरूलाई खेतमै  भुक्तानी गरी उत्पादनहरू संकलन केन्द्रमा पठाइन्छ । ताजा उत्पादनहरू कम्पनीकै चिस्यानसहित ढुवानी गर्न सकिने गाडीमा लोड गरिन्छ र मुख्य गोदाममा पठाइन्छ । उत्पादनलाई प्याकिङ गर्नुअघि क्रमवद्ध र वर्गीकरण गरिन्छ । पछि उत्पादनहरू ग्राहकहरूसम्म डेलिभर गरिन्छ । सङ्कलन कक्षमा ल्याईसकेपछि रिटेलबाट जतिपनि माग आउँछ त्यसको आधारमा रातको समयमा प्याकेजीङ भएर बिहानको समयमा पसल पसलमा पुर्याउने काम कम्पनीले गर्छ । कम्पनीले स्वदेशमा उत्पादित तरकारी नै बिक्री गर्न प्रथमिकता दिएको छ । नेपालमा सरकारी डाटा हेर्दा ३० प्रतिशत मात्र उत्पादन हुन्छ । त्यसैले नेपाली उत्पादनले मात्र पुग्दैन् । बाध्यतावस आयातित तरकारीलाई पनि ‘फ्रेसकेटिएम’ले बजारमा पठाउँदै आएको छ ।

कम्पनीको चुनौती र अहिलेको अवसर

हाल यस कम्पनीले १८० भन्दा धेरैलाई रोजगारी प्रदान गर्दै आईरहेको छ । यस कम्पनीको सञ्चालन भएदेखि हालसम्म आउँदा विभिन्न चुनौतीहरु देखिए । हाल कम्पनीको दैनिक २० टन तरकारी आपुर्ती गर्दा १५ प्रतिशत तरकारी बिग्रिएर खेर गईरहेकाले यसलाई कम गर्न अर्थात घाटालाई कसरी कम गर्ने भन्ने चुनौती छ । किसानलाई जाँगरिलो बनाउन, किसानले उत्पादन गरेको तरकारीको गुणस्तर कायम राख्न पनि चुनौती छ । अझै नेपालको सडक बाटो जसले तरकारीको गुणस्तरलाई प्रभाव पारेको छ । यो पनि कम्पनीको चुनौती हो । सप्लाइजिनमा काम गर्न सबैभन्दा चुनौती भनेको लजिस्टिक हो । त्यसका लागि कम्पनीले ‘इनहाउस’ लजिस्टिक मेन्टेन गरेको छ । ‘फ्रेसकेटिएम’ का ३६ वटा गाडी छन् । जसले केही हदसम्म ढुवानीको समस्या कम छ ।   

फ्रेसकेटिएमबाट किसानलाई नै फाईदा 

‘फ्रेसकेटिएम’लाई तरकारी बेच्ने किसानले भुक्तानी मात्र होइन् कुन समयमा के तरकारी रोप्ने, जतिसक्यो बढी तरकारी उत्पादन कसरी गर्ने लगायतका सल्लाह पनि पाउने गरेको छ । यसले प्रत्येक किसानसम्म पुगेर प्राविधिक टोलीदेखि आवश्यक पर्ने सम्पुर्ण सामान उपलब्ध गराउँछ । किसानको परिश्रमिक अनुसारको मुल्य किसानकै ठाउँमा पुगेर किसानले पाउँछन् । यो तरकारीको मुल्य यतिबेल पाइन्छ भनेर किसानलाई दिएको सल्लाह अनुसार किसानको आम्दानीमा पनि वृद्धि हुन्छ, जसले गर्दा किसानलाई पनि फाईदा हुन्छ । बजारमा पनि माग अनुसारको आपुर्ती हुन्छ । यस कारण पनि ‘फ्रेसकेटिएम’ सँग जोडिएका किसान उत्साहित देखिन्छन् । उनीहरु तरकारी उत्पादनमा बढी ध्यान दिइरहेका छन् । के गर्दा समाजमा सकारात्मक प्रभाव पर्छ त्यही अनुसारको काम गर्न सक्नु नै सफलता हो । 

खुद्रा बिक्रेताले किन किन्ने फ्रेसकेटीएमसँग तरकारी ?

‘फ्रेसकेटीएम’सँग तरकारी किन्नुको फाइदा खुद्रा बिक्रेतालाई पनि छ । हाल ७ सय खुद्रा कम्पनीले पसल–पसलमा बिहान ५ बजेदेखि ६ बजेभित्र तरकारी उपलब्ध गराउँछ । यसबाट खुद्रा बिक्रेताको समयसँगै ढुवानी पनि बचत हुन्छ । त्यो पनि होलसेल मूल्यमा । काठमाडौंको रातोपुलमा आफ्नो पहिलो आउटलेट खोलेको करिब एक वर्षपछि फ्रेसकेटिएमले ललितपुरको झम्सीखेलमा आफ्नो आउटलेट खोलेको थियो भने हाल कम्पनीले पाँच वटा आउटलेट सञ्चालनमा ल्याएको छ । 


तपाईँले समाजमा के गर्दै हुनुहन्छ ? तपाईँको कामले देशलाई कति फाइदा पुगेको छ ? यो पनि तपाईँको सरोकारोको विषय हो । नकी तपाईँलाई देशले के दियो ? विदेशमा कमाएको धनलाई देशमा लगानी गर्नु, विदेशमा लिएको ज्ञानलाई स्वदेशमा प्रयोग गर्नु अनि अरुलाई पनि काम गर्न प्रेरणा दिनु साच्चीकै प्रशंसायोग्य काम हो । यही काम गर्दैछ ‘फ्रेसकेटीएम’ले ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको