पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीआ) जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केवलकार हो । आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पूँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको हो । केवलकारमा जनताको सहभागिता बढाउनको लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने छ ।
पाँच वर्ष अगाडि निर्माण सुरु भएको केवलकार कोभिडको कारण तोकिएको भन्दा दुईवर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो । आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए । पोखरा महानगरपालिका–१८ स्थित सेदीबगर स्थित अन्नपूर्ण केवलकारको बटम स्टेशन निर्माण गरिएको छ ।
जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ । जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए । केवलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो । केवलकारको माथिल्लो स्टेशन सराङ्गकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भईरहेको छ । सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाई रहेको छ । यो मूर्ति विश्वकै ठूलो मध्ये एक हो । यसबाहेक भ्यू टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
केवलकार चढेर सराङ्गकोटबाट सूर्योदय, सुर्यास्त तथा हिमालको दृष्य हेर्न सकिन्छ । विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केवलकारबाट तीन किसिमका दृश्यावलोकन गर्न सकिनेछ । सूर्योदय, सूर्यास्त, हिम शृङ्खलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ । हिमालको सबैभन्दा नजिक रहेको केवलकार नेपालकै पहिलो हो ।
त्यतिमात्रै नभएर नेपालमा सञ्चालनमा रहेका केवलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो । यस केवलकार परियोजनामा जापानिज निप्पोन केवलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ, जुन सुरक्षाको हिसावले बढि सुरक्षित मानिन्छ । २०७८ साल फागुन देखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला रहेको छ ।
केवलकारको सुरुको स्टेशनदेखि अन्तिमसम्म १३ वटा टावर रहेको छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस