अर्थ संसार, काठमाडौं– गत साता शेयर बजारमा खासै सुधार देखिएन । साताको पहिलो २ दिन परिसूचक घटेपनि अन्तिम ३ दिन भने बजार उकालो लागेको थियो ।
भर्खरै सकिएको दशैँ र देशमा चलिरहेको राजनीतिक हो–हल्लाले शेयर बजारमा प्रभाव पारेको विश्लेषकहरु बताउँछन् ।
लगानीकर्ताहरुले अघिल्लो साताको तुलनामा गत साता शेयर बजारबाट २ दशमलव १२ प्रतिशत सम्पत्ति गुमाएका थिए । कारोबार रकममा भने ४४ दशमलव ७० प्रतिशतको वृद्धि भएका थियो ।
साताको परिसूचक हेर्दा बजार आगामी दिनमा बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ५ सय १८ रहेको छ भने दोश्रो विन्दु १ हजार ५ सय २५ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ४ सय ९८ र दोश्रो टेवा १ हजार ४ सय ८६ मा पाउने देखिन्छ ।
साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको मैनबत्तीले सेतो मारुबोजु आकृति बनाएको छ । यस आकृतिले आगामी दिनमा परिसूचक बढ्ने सङ्केत गर्छ ।
सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३६ दशमलव ३९ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
गत साता नेप्से परिसूचक ३२ दशमलव ६३ अङ्क घटेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ५ सय ४२ दशमलव ६५ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ५ सय १० दशमलव शून्य २ विन्दुमा पुगेको हो ।
तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक न्यून अङ्क अर्थात् शून्य दशमलव शून्य १ अङ्कले बढेको हो ।
‘अन्य’ समूहको परिसूचक ५२ दशमलव ६३ अङ्क बढेको छ । त्यस्तै, बैङ्किङ समूहको परिसूचक ७ दशमलव ८९ अङ्क, विकास बैङ्कको १६ दशमलव ६७ अङ्क, वित्त कम्पनीको ६ दशमलव ९ अङ्क र होटलको ६ दशमलव शून्य ६ अङ्क घटेको छ ।
साथै, बीमा समूहको परिसूचक १७ दशमलव ९८ अङ्क, जलविद्युतको शून्य दशमलव १ अङ्क, उत्पादन तथा प्रशोधनको २५ दशमलव ९७ अङ्क र व्यापारको ४ दशमलव शून्य ६ अङ्क घटेको हो ।
गत साता २० हजार ८ कारोबारबाट १ सय ७२ कम्पनीहरुको ३९ लाख ४३ हजार ८ सय १० कित्ता शेयर खरीद विक्री भए । जसबाट रू। १ अर्ब ७६ करोड ५९ लाख ८५ हजार बराबरका रकम परिचालित भयो ।
सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ६७ अङ्कले बढेर ३ सय १७ दशमलव ६३ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ४५ अङ्कले बढेर १ सय ८ दशमलव ८१ अङ्कमा पुगेको हो ।
सो साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । यस जलविद्युत कम्पनीले गत साता रू। १३ करोड ५६ लाख ३० हजार बराबरको शेयर कारोबार गरेको थियो ।
कारोबार सङ्ख्याको आधारमा सोही जलविद्युत कम्पनीको १ हजार १ सय २२ ओटा कारोबार भएको थियो । त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधार नेपाल बैङ्क लिमिटेड अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कको १ लाख ६२ हजार कित्ता शेयर खरीद विक्री भएको थियो । अभियानबाट
गत साताको समूहगत परिसूचक
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस