भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड मङ्गलबार बिहान सम्पन्न भएको छ ।
कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड गरिएको हो । उक्त आइपिओमा ११ लाख ९४ हजार आठ सय २० जनाले एक करोड ३५ लाख ७६ हजार एक सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथाबाट आइपिओ बाँडफाँड गरिएकोमा दुई लाख ७ हजार ५२३ जनाले १० कित्ता र पाँच जनाले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
आइपिओको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट, भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ नतिजा दिने https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ । नतिजा केही समयपछि हेर्न सकिनेछ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ भने यसै वर्ष देखि उत्पादन शुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस