अर्थ संसार, काठमाडौं । पछिल्लोपटक सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनीले छोटो अवधिमा बीमालेख जारी गरेर प्रिमियम संकलनलाई तीव्रता दिएका छन् ।
आईएमई, ज्योति, रिलायबल, सन नेपाल र यूनियन लाइफ इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ५ करोड ८० लाख ६० हजार रुपैयाँ प्रिमियम सङ्कलन गरिसकेका छन् ।
बीमा समितिमा भने युनियन लाइफबाहेक चार ओटा नयाँ जीवन बीमा कम्पनीको पहिलो त्रैमासको विवरण उपलब्ध छ ।
उक्त चारओटा कम्पनीले मात्र छोटो अवधिमा नै ३ करोड ६५ लाख ६० हजार रुपैयाँबराबरको प्रिमियम संकलन गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त ४ कम्पनीले २ हजार ८ सय ७३ बीमालेख जारी गरेर सो रकमबराबरको प्रिमियम संकलन गरेका हुन् ।
पहिलो त्रैमासिक विवरण बुझाउने प्रक्रियामा रहेको युनियन लाइफले भने ४ सय ८३ बीमालेखबाट रू.२ करोड १५ लाख प्रिमियम सङ्कलन गरेको जानकारी दिएको छ । बीमा समितिमा आईएमई, ज्योति, रिलायबल र सन नेपालको असोज मसान्तसम्मको तथ्याङ्क उपलब्ध छ ।
समितिले कारोबार सञ्चालनको अन्तिम स्वीकृति दिएको सातओटा बीमा कम्पनी पुगे पनि भर्खर सञ्चालन गरेका कम्पनीको भने यस्तो विवरण आएको छैन ।
सानिमा र सिटिजन्स लाइफले लक्ष्मीपूजाको दिनबाट मात्र कारोबार शुरू गरेका हुन् । युनियन लाइफले भने बीमा समितिमा विवरण पठाउन ढिलाइ भए पनि कारोबार भने भइरहेको बताएको छ । समितिले सबै बीमा कम्पनीलाई पहिलो त्रैमासको विवरण मङ्सिर १० गतेसम्म बुझाउन अनुरोध गरेको आजको अभियानमा समाचार छ ।
बीमा समितिलाई प्राप्त विवरणअनुसार गत असार २० गते स्वीकृति पाएर भदौ १ गते बिहीवारदेखि कारोबार सञ्चालन गरेको आईएमई लाइफले असोज मसान्तसम्ममा ७ सय २१ ओटा बीमालेख जारी गरेको छ ।
उक्त बीमालेखबाट करीब ४१ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको समितिको तथ्याङ्कमा उल्लेख छ भने आईएमईले कात्तिकसम्ममा १ करोड रुपैयाँभन्दा बढी प्रिमियम सङ्कलन भएको दाबी गरेको छ ।
उक्त कम्पनीका असिष्टेण्ट जनरल म्यानेजर आशिष सिंहले २० ओटा शाखा भएको यस कम्पनीले आर्थिक वर्ष्भित्र ५५ ओटा शाखा विस्तार गर्न लागेको बताए ।
यसका साथै कम्पनीले प्रतिशाखा करीब तीन जनासम्म कर्मचारी राखेको र हालसम्म ६८ कर्मचारीले सेवा दिइरहेको उनको भनाइ थियो । आईएमईले हालसम्म ६ सय जना अभिकर्तालाई जीवन बीमाको तालीम दिइसकेको र यो क्रम जारी रहेको बताएको छ ।
असोज १० गतेदेखि कारोबार शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्सले पनि असोज मसान्तसम्म ७७ ओटा बीमालेखबाट २३ लाख ६० हजार रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । यो कम्पनीले कारोबार शुरू गरेको करीब २० दिनमा ५६ ओटा सावधिक जीवन बीमालेख, २० ओटा सामान्य म्यादी जीवन बीमालेख र एउटा आजीवन बीमालेख जारी गरेको छ । १० ओटा शाखा खोलिसकेको ज्योति लाइफले छिटै सातओटा शाखा सञ्चालन गर्ने बताएको छ ।
कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले प्रतिस्पर्धी बजारमा चाँडै स्थापित हुन खोजिरहेको बताए । आगामी दिनमा देशका सातओटै प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्ने योजना रहेको उनको भनाइ छ । दुर्गम क्षेत्रमा सेवाविस्तार गरी जीवन बीमामा नसमेटिएका व्यक्तिहरूलाई यसमा समेट्न सबैलाई उपक्त हुने बीमा योजना जारी गर्ने योजनामा रहेको उनले बताए ।
असोज ६ गते एकैदिन औपचारिक कारोबार सञ्चालन गरेका सन नेपाल र नियन लाइफ इन्स्योरेन्सले पनि धमाधम बीमालेख जारी गरेका छन् । सन् नेपालले असोज मसान्तसम्म ५ लाख ८८ ओटा बीमालेखबाट २ करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
यसैगरी कारोबार सञ्चालनको अनुमति पाएको २ दिनमै विधिवत् कारोबार सञ्चालन गरेको युनियनले रू.सवा २ करोड प्रिमियम सङ्कलन गरेको बताइएको छ । युनियनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले बीमा समितिमा त्रैमासिक विवरण भने पठाउने क्रममा रहेको बताए ।
उनले हमलसम्म १० ओटा शाखा कार्यालय खोलीसकेको र अरु खोल्ने क्रम जारी रहेको जानकारी दिए । यमे कम्पनील साधारणसभाबाट आईपीओ पारीत गर्न सर्वसम्मतले पास गरेको छ ।
हाल युनियनले सीमित भुक्तानी सावधिक जीवन बीमा योजना, सावधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीवन बीमा योजनाहरू सञ्चालन गरिरहेको छ ।
बीमा समितिले पछिल्लोपटक कारोबार सञ्चालनको अन्तिम स्वीकृति दिएको र शुरुआत गरेको पाँचौं नयाँ बीमा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्सले १ हजार ४ सय ८७ ओटा बीमालेख जारी गरेको छ ।
बीमा समितिको तथ्याङ्कअनुसार उक्त कम्पनीले ७३ लाख रुपैयाँ प्रिमियम सङ्कलन गरेको छ । कम्पनीले नेपालमा पहिलोपटक विशेष किसिमको बीमा योजना ‘रिलायबल धनपति जीवन बीमा योजना’ सार्वजनिक गरेको दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले सानोसानो बचतबाट सजिलै करोडपति बन्न सकिने भएकाले यस्तो योजना ल्याइएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस