Like us!
Follow us!
Connect us!
Watch us!

चौथो दिन पनि नेगेटिभ सर्किटकै हाराहारीले घट्यो माउन्टेन इनर्जीको सेयरमूल्य, कसले दिँदैछ उच्च सप्लाई ?

अर्थ संसार

मंगलबार, १९ मंसिर २०८०, १७ : २८ मा प्रकाशित

चौथो दिन पनि नेगेटिभ सर्किटकै हाराहारीले घट्यो माउन्टेन इनर्जीको सेयरमूल्य, कसले दिँदैछ उच्च सप्लाई ?

एक महिना अघि नोभेम्बर ८ तारिखमा सात सय ९० रुपैयाँसम्ममा कारोबार भएको माउन्टेन इनर्जी नेपाल कम्पनीको सेयर मङ्गलबार डिसेम्बर ५ तारिखमा चार सय ३४ रुपैयाँमा झरेको छ ।

कुनै समय नेप्सेमा लिस्टिङ भएका हाइड्रोहरु मध्ये कै उच्च मूल्यमा कारोबार हुने उक्त कम्पनीको सेयरमूल्य पछिल्ला चार दिनसम्म नेगेटिभ सर्किटकै हाराहारीमा घटेको छ । अघिल्लो बिहीबार १० प्रतिशतले घटेको माउन्टेन इनर्जीको सेयर आइतबार र सोमबार थप ९.९ प्रतिशतले र आज मङ्गलबार ८.९ प्रतिशतले घटेको हो ।

कम्पनीको यसरी लगातार सेयर मूल्य घट्नुको खास कारण भने संस्थापक तथा स्थानीय सेयरधनीको लकइन पिरियड समाप्त भएका हुनाले हो । एक अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको उक्त कम्पनीको अब शतप्रतिशत सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । अर्थात दोस्रो बजारमा एक करोड ९६ लाख ८० हजार दुई सय ७० कित्ता सेयर कारोबारयोग्य भएको छ ।

कम्पनीको डिसेम्बर २ तारिख देखि लकइन पिरियड समाप्त भएको हो । पहिले कुल सेयरको मात्र २० प्रतिशत सेयर दोस्रो बजारमा कारोबार भइरहँदा उक्त सेयरको अलटाइम हाइ मूल्य एक हजार पाँच ३० रुपैयाँसम्म पुगेको थियो । पाँच खोला ताडी खोला हाइड्रो र ४२ मेगावाटको मिस्त्री खोला हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको उक्त कम्पनीको आम्दानी भने आकर्षक नै रहेको छ । तर एकैपटक कुल पुँजीको ८० प्रतिशत सप्लाई आउँदा सेयरको मूल्यमा भारी गिरावट आएको हो ।

नेप्सेको तथ्यांक अनुसार मङ्गलबार उक्त कम्पनीको ३६ करोड २९ लाख ५७ हजार ६ सय २४ रुपैयाँ बराबरको आठ लाख ३१ हजार तीन सय ५० कित्ता सेयर बिक्री भएको छ । आज मात्रै ब्रोकर ४२ ले उक्त कम्पनीको दुई लाख १२ हजार तीन सय १९ कित्ता, ब्रोकर ३४ ले दुई लाख ११ हजार दुई सय सात कित्ता, ब्रोकर ५८ ले एक लाख ४३ हजार आठ सय ७१ कित्ता तथा ब्रोकर ४९ ले एक लाख दुई सय ७० कित्ता सेयर बिक्री गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको