Like us!
Follow us!
Connect us!
Watch us!
आर्थिक विकासको लागि विमानस्थल सुचारु गर्नुपर्ने सुदूरबासीको माग

सुदूरपश्चिमका ६ विमानस्थलमा भैंसी चर्छन, करोडौंको पूर्वाधार वेवारिसे

मंगलबार, ०७ मंसिर २०७३, १६ : ५४ मा प्रकाशित

सुदूरपश्चिमका ६ विमानस्थलमा भैंसी चर्छन, करोडौंको पूर्वाधार वेवारिसे

बजाङ्गको चैनपुरस्थित प्रयोगविहीन विमानस्थल । तस्विर : दिपेन्द्र

दीपेन्द्र भण्डारी
धनगढी–लाखौं खर्च गरेर पूर्वाधार निर्माण गरिएका सुदूरपश्चिमका आधा दर्जनभन्दा बढी विमानस्थल आधा दशकदेखि सुनसान अवस्थामा छन् । विमानस्थल प्रयोगमा नआउदा धेरैजसो हवाइ मैदान गौरचरणमा परिणत भएका छन् । केही झार ढाकिएका छन् । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, बैतडी र कञ्चनपुरका विमानस्थल यस्तो अबस्थामा आएका हुन् ।  यसरी अवरुद्ध हुने विमानस्थलमध्ये कञ्चनपुरको मझगाउँस्थित विमानस्थल पनि एक हो । 

कुनैबेला निकै चलनचल्तीमा रहेको यस विमानस्थलमा जहाज चढ्नेको मात्र होइन्, हेर्न आउने सर्वसाधारणको समेत घुइँचो लाग्थ्यो । उडान अवरुद्ध भएको १५ वर्षयता यो विमानस्थल सुनसान छ । त्यसैगरी बैतडीको पाटन विमान स्थल बन्द भएको झण्डै १६ वर्ष भइसकेको छ । २०३७ सालमा हवाई मैदान निर्माण सुरु गरी २०४२ सालदेखि यो  मानस्थलमा हवाई सेवा सञ्चालन आएकोे थियो । 

सञ्चालनमा आएको आठ वर्षमै सडक सञ्जाल पुगेको भन्दै सरकारले विमानस्थल बन्द ग¥योे । सडक पुगेको धेरै वर्षसम्म यहाँका बासिन्दाले बाह्रैमास सडक सेवा प्रयोग गर्न पाएनन् । कच्ची सडक बाढी र पहिरोले भत्किँदा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाले बर्सेनी यात्राका लागि हैरानी खेप्नु परिरहेको छ । सरकारी उदासीनताका कारण करोडौँको लगानीमा निर्माण गरिएका सुदूरपश्चिमका ती दर्जन विमानस्थल बेकम्मा भएका हुन् । 


दार्चुलाको गोकुलेश्वर हवाई मैदानको हालत पनि पाटनकै जस्तो छ । वर्षभरि मुस्किलले सडक सेवा पाउने यहाँका बासिन्दा हवाई सेवा अवरुद्धपछि झन आफू विकटमा परेको महशुस गर्दै आएको बताउँछन् ।  ‘सडकको भर हुँदैन, बस चढेरभन्दा हिँडेरै बढी यात्रा गर्छौं,’ गोकुलेश्वर बहुमुखी क्याम्पसका शिक्षक पशुपति नाथ भन्छन्– ‘हवाई सेवा सञ्चालन गरिए आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिन्थ्यो ।’

२०५० सालमा यात्रु अभावका कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो । सडक र हवाई सेवा दुवै सञ्चालन गरिनुपर्ने शिक्षक नाथको माग छ । उनले हवाई सेवा बन्द भएपछि अपी र नाम्पा हिमाल अवलोकन र आरोहण गर्न आउने पर्यटक घटेको बताए । ‘सडक यातायात भरपर्दो बन्न सकेको छैन’, उनले भने ‘जहाजसमेत आउन छोडेपछि यहाँ आउने पर्यटक शून्य प्राय भएका छन् ।’ पाटन र गोकुलेश्वर हवाई मैदान जस्तै डोटीको दिपायल र अछामको साँफेबगर र बझाङको चैनपुर विमानस्थल पनि वर्षाैंदेखि बन्द छन् ।

बझाङमा २०६९ सालदेखि उडान भएको छैन । बझाङ विमानस्थलमा उडान भर्ने नेपाल एयरलाइन्सको विमान तत्कालिन समयमा कालिगण्डकीमा दुर्घटनाग्रस्त भएपछि विमान अभावमा बझाङ रुट अवरुद्ध भएको थियो । दुर्घटनापछि नागरिक उड्ययनसँग जहाज अभाव भएसँगै त्यसको सेडियुल (तालिका) समेत परिवर्तन भएपछि ३ वर्षयता बझाङ विमान स्थलमा जहाज अवतरण भएको छैन ।
सुदूरपश्चिममा अहिले बाजुराको मार्तडी र कैलालीको धनगढी विमानस्थल मात्रै सञ्चालनमा छन् । यी विमानस्थलमध्ये धनगढीमा बुद्धले नियमित उडान र नेपाल बायुसेवाले हप्तामा २ उडान भर्ने गरेका छन् । त्यसैगरी बाजुराको मार्तडी विमानस्थलमा गोमा, सीता, सिम्रिक, काष्ठमाण्डप, मकालु र नेपाल वायुसेवाले दैनिक ३ देखि ४ उडान भर्दै आएको नागरिक उडड्यन प्राधिकरण बाजुराका कार्यालय प्रमुख मोहन गिरीले बताए ।

 बजुरामा सडक सञ्जाल पुगे पनि स्थानीयले सहज र छरितो सेवाको लागि जहाज नै प्रयोग गर्दै आएको कार्यालय प्रमुख गिरीले बताए । उनले नेपालगंज, सुर्खेत, सिमकोटबाट उडान भइरहेको जानकारी दिए ।  सूदूरपश्चिमका विमानस्थलहरु बन्द भएसंगै विमानस्थलको पूर्वाधारसमेत बेवारिसे जस्तै छन् । राज्यको ठूलो लगानी रहेका यी संरचना प्रयोगमा नहुँदा सरकारको ठूलो लगानी बालुवामा पानीजस्तै भएको स्थानीय बासिन्दा बताउँछन् । 

धेरैजसो हवाई मैदानको सुरक्षार्थ सरकारले कर्मचारीको समेत ब्यवस्था गरेको छैन । रेखदेख गर्ने कर्मचारी नहुँदा विमानस्थलका सामग्री चोरिने, नष्ट हुने क्रम बढेको स्थानीयवासिन्दाको गुनासो छ । सुदूरपश्चिमका ९ मध्ये ७ जिल्लाका विमानस्थल खण्डहर भएसंगै यहाँको आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको पर्यटन व्यवसायी बताउँछन् । 

आर्थिक र प्राकृतिक रुपले सुन्दर सुदूरपश्चिमको विकास र सम्भावना पवद्र्धनको लागि यहाँको हवाइ सेवा सुचारु हुनु आवश्यक भएको सुदूरपश्चिम टुर एण्ड ट्राभल्स एसोसिएसन (नाटा) सुदूरपश्चिम क्षेत्रीय अध्यक्ष मायाप्रकाश भट्टले बताए ।‘सुदूरपश्चिमको उत्तर–दक्षिण नाका नखुलेको अवस्थामा विमानस्थलसमेत बन्द हुनुले यहाँको आन्तरिक र वाह्य पर्यटकलाई सुदूरुपश्चिम भिजिट गराउन सकिएको छैन’ अध्यक्ष भट्टले भने ‘यस क्षेत्रको विकासका लागि ती विमानस्थल प्रयोग गर्नु आवश्यक छ ।’
सुदूरका सबै जिल्लालाई सडक सञ्जालले छोएपनि सडकको स्तरोन्नती नहुँदा वर्षातको समयमा र अतिआवश्यक कामको लागि हवाइमार्गको प्रयोग हुने गरेको छ । ‘राजधानीसितको हवाई सेवाभन्दा सुदूरपश्चिमको आन्तरिक सेवामा जोड दिनुपर्छ,’ धनगढीस्थित पर्यटन समाजका अध्यक्ष कृष्णबहादुर महराले भने– ‘यसले सुदूरपश्चिमको पर्यटनमा मद्दत पुग्छ ।’

यातायातको पहुँच नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको उनको ठम्याइ छ । ‘साधन स्रोतको अभावले खप्तड, अपी, बडिमालिका, शुक्लाफाँटालगायतका पर्यटकीय क्षेत्रबारे सुदूरपश्चिमवासी नै अपरिचित छन्,’ पर्यटन व्यवसायी महराले भने ।  आर्थिक, सामाजिक र पर्यटकीय महत्वका हिसाबले सरकारले सबै विमानस्थललाई तत्काल सुचारु गर्नुपर्ने पर्यटन व्यवसायी बैतडीस्थित पाटन क्याम्पसका प्राध्यापक लक्ष्मीदत्त पाण्डेयले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको