Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड फाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् एक विश्लेषण

बुधबार, १३ मंसिर २०७४, ०८ : १८ मा प्रकाशित

युनाइटेड फाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् एक विश्लेषण

प्रमुख गतिविधि
अर्थ संसार, काठमाडौं - युनाइटेड फाइनान्सले शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । सो बोनस नेपाल राष्ट्र बैङ्क र  कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत हुन बाँकी छ । त्यस्तै, कम्पनी २० प्रतिशत हकप्रद शेयर पनि विक्री गर्दै छ । वैदेशिक रणनीतिक साझेदारको रूपमा भारतको मुथहुट फाइनान्स लिमिटेडलाई भित्र्याउने भएको छ ।
 
युनाइटेड फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, १३ मङ्सिर २०७४)
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षकोे पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • यो अवधिमा कम्पनीको खुद नाफामा ४३८ प्रतिशत कमी आएकोे छ । यो त्रैमासमा उसलाई ३ करोड ४५ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड २ लाख खुद नाफा कमाएको थियो ।

  • पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न कठिन भइरहेको देखिन्छ । यो अवधिमा कम्पनीको पूँजी ४ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी ६ दशमलव ३५ रुपैयाँबाट घटेर नकारात्मक २० दशमलव ५२ रुपैयाँ पुगेको छ ।

  • यो त्रैमासमा ५ अर्ब ५८ करोड निक्षेप उठाई ४ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप १९ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह पनि १२ प्रतिशत वृद्धि भएको छ ।

  • खुद ब्याज आम्दानी ४४ प्रतिशत कम भएर २ करोड ६३ लाख पुगेको छ । त्यस्तै, सञ्चालन घाटा ३ करोड ५२ लाख पुगेको छ । आम्दानीमा प्रोभिजनका कारण ३ करोड ४२ लाख घट्न पुगेको देखिन्छ भने जोखीम कोषबाट कुनै रकम फिर्ता भएको छैन ।

  • फाइनान्सको पूँजी कोषको लागत ६ दशमलव २० प्रतिशतबाट वृद्धि भएर ९ दशमलव २३ प्रतिशत कायम भएको छ ।

  • निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशतबाट वृद्धि भएर १ दशमलव २६ प्रतिशतमा पुगेको छ भने निष्क्रिय कर्जाका लागि १६५ दशमलव ७० प्रतिशत रकम व्यवस्था गरेको छ ।

  • फाइनान्सले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १४८ दशमलव ६७ रुपैयाँ, प्रतिशेयर आम्दानी नकारात्मक २० रुपैयाँ ५२ पैसा, मूल्य आम्दानी अनुपात नकारात्मक १२ दशमलव ७२ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९९६ रुपैयाँ ०१ पैसा र तरलता अनुपात २५ दशमलव ३५ प्रतिशत रहेको छ ।

निष्कर्ष :
प्रमुख आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको कमीसँगै कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नरहेको प्रस्ट देखिन्छ । ३ करोड ४२ लाख प्रोभिजन गरिँदा राइट ब्याक एक रुपैयाँ पनि नहुँदा कम्पनीको खुद नाफामा असर पुगेको देखिन्छ ।

प्राविधिक विश्लेषण : युनाइटेड फाइनान्स प्रवृत्तिहीन

प्रतिरोध २ : २८५ । प्रतिरोध १ : २७० । हालको अन्तिम मूल्य : २६२ । टेवा १ : २४० । टेवा २ : २००

बजारको अवस्था
यस कम्पनीको २८ नोभेम्बर, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य २ सय ६२ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा १२ अङ्क अर्थात् ४ दशमलव ८० प्रतिशत बढी हो । अन्तिम दिनको परिमाण १ हजार २ सय ९२ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा १ हजार १ सय २३ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम विगत ६ महीनादेखि मूल्यको प्रवृत्ति प्रवृत्तिहीन रहेको र हाल मूल्य २ सय ७० को प्रतिरोध क्षेत्रतर्फ बढिरहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : विगत ६ महीनादेखि मूल्य प्रवृत्तिहीन रहेकोले २१ दिनको ईएमएले दिएको सङ्केत हाल प्रभावकारी देखिँदैन ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ५० अङ्कमा रहेको छ । यसको प्रवृत्ति हेर्दा बजार अन्योल अवस्थामा रहेको देखिन्छ ।

मैनबत्ती : अन्तिम २ दिनको मैनबत्तीहरूले बुलिश एन्गल्फिङ आकृति बनाएको देखिन्छ । यसले मूल्य बढ्न सक्ने सङ्केत गर्दछ ।

निष्कर्ष
केही सूचकहरूले सकारात्मक सङ्केत गर्न थाले पनि अरू सूचकहरूले पनि बजार बढ्न सक्ने सङ्केत गरेमा मात्र जोखीम कम हुने हुनाले अहिले बजार ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । हालको तत्कालीन प्रतिरोध २ सय ७० मा रहेको देखिन्छ भने तत्कालीन टेवा २ सय ४० मा रहेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको