Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १५ : ३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

 

अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई दोषी ठहर गरेको छ। यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिका सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो।  

राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागुऔषधको नशामा सन् २०१८ मा हातेबन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो। 

हन्टरका पिता जाे पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाबारे भाषण दिने तयारी गरिरहेका समय यो निर्णय आएको हो। 

बाइडेनको गृहनगर विल्मिंगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरेका छन्। 

यस मुद्दाको नतिजा स्विकार्दै हन्टरले अपिलपछिको न्यायिक प्रक्रियालाई सम्मान गर्ने बताए। १२ सदस्यीय न्यायाधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेका  थिए। 

अमेरिकामा बन्दुक किन्ने क्रममा झुटो बयान दिएमा १० वर्षसम्म, लागुऔषध दुर्व्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा १० वर्षसम्म र बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराएमा पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन्, तर २५ वर्षसम्म जेल सजाय भोग्ने सम्भावना भए पनि पहिलोपटकको अपराधीका रूपमा हन्टरलाई जेल सजाय नहुन सक्छ। 

नोभेम्बरको राष्ट्रपति चुनावमा जो बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको व्यापार अपचलनको आरोपमा दोषी ठहर भएको दुई हप्तामै बाइडेनविरुद्ध यस्तो फैसला आएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको