Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम सहकारी ठगी प्रकरण : मुख्य योजनाकारसहित ७ जना कारागार चलान

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १४ : ०९ मा प्रकाशित

प्राइम सहकारी ठगी प्रकरण : मुख्य योजनाकारसहित ७ जना कारागार चलान

प्राइम सहकारी ठगीका मुख्य योजनाकार भनिएका व्यक्तिसहित ७ जना कारागार चलान भएका छन् । 

मुख्य योजनाकार भनिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

सहकारीको १ अर्व ५७ करोड रुपैयाँ अपचलन भएको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको हो । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् ।

सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । घिमिरे पोखराकै मित्रमिलन सहकारीको रकम हिनामिनाको आरोपमा थुनामै छन् ।

सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतले जनाएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

नेपाल सरकारका उच्च तहका कर्मचारीसमेत मुछिएको यो ठगी गण्डकी प्रदेशमै सबैभन्दा ठूलो सहकारी ठगी प्रकरण हो । मुद्दामा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, सहकारीका कर्मचारी, लेखापरीक्षक, नेपाल सरकारका कर्मचारी समेतलाई विपक्षी बनाइएको छ ।
गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्रमुख बद्रीनाथ अधिकारी, सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदी र राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख सन्तोष घिमिरेले पनि रकम र अन्य सुविधा लिएको अभियोगपत्रमा छ । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रदेशसचिव बद्रीनाथ अधिकारी सहकारीको अनियमिततामा संलग्न रहेको प्रतिवादीले बयान दिएका छन् । प्रदेश नीति तथा योजना आयोगमा कार्यरत सचिव अधिकारी सम्पर्कमा छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको