Like us!
Follow us!
Connect us!
Watch us!

साधारण सेयर खरिद गर्न हितग्राही खाता अनिवार्य

मंगलबार, ११ पुस २०७४, १४ : २८ मा प्रकाशित

साधारण सेयर  खरिद गर्न हितग्राही खाता अनिवार्य

अर्थ संसार, काठमाडौँ– हितग्राही खाता नहुनेले अब साधारण सेयर खरिद गर्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार सेयरर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयरमा आवेदन दिन नपाउने भएका हुन् ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेनले निकट भविष्यमा सीमित साधारण सेयर जारी गर्न लागेको छ । सेयर बिक्रीका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, सिभिल क्यापिटल र एनएमबी क्यापिटल छन् ।

कम्पनीले आज सूचनामार्फत साधारण सेयरका लागि अनिवार्यरुपमा हितग्राही खाता (डिम्याट) जरुरी रहेको भन्दै तत्काल खाता खोल्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको सूचनाअनुसार १०० मूल्य अंकित तीन करोड ६५ लाख कित्ता सेयरमध्ये कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीलाई ७१ लाख १७ हजार ५०० बराबरको कित्ता शेयर बिक्री गर्न लागेको छ ।

यस्तै, संस्थापक सेयर धनी संस्थाका कर्मचारीलाई १२ लाख ७७ हजार ५०० कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई तीन लाख ६५ हजार कित्ता गरी पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता साधारण बिक्री गर्न लागेको जनाएको छ ।

सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २६ गते उक्त कम्पनीले स्वीकृति पाइसकेको छ । बोर्डको नियमअनुसार आस्वा प्रणालीमार्फत शेयर आवेदन दिनका लागि हितग्राही खाता अनिवार्य रहेको भन्दै तत्काल उक्त खाता खोल्न कम्पनीले आग्रह गरेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवाको साविक जिविस तथा गाविसका कर्मचारीलेसमेत उक्त शेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकोषमा रकम जम्मा गरेका कर्मचारीले सेयर खरिद प्रक्रियामा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै कम्पनीले दोस्रो चरणमा स्थानीय प्रभावितलाई १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत साधारण सेयर बिक्री गर्ने तयारी गरिएको जनाएको छ ।

कम्पनीका अनुसार कूल १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी असारदेखि सो आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यस्तै तल्लो साञ्जेन जलविद्युत् आयोजनाको पनि भौतिक प्रगति ५० प्रतिशतमाथि पुगेको छ । सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको