संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।
सोमवार त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे सरोकारवाला निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन् । उनले विमानस्थलसँग सरोकार राख्ने निकाय र मन्त्रालयले गर्नुपर्ने सुधारका कामहरूबारे कार्य योजना बढाएर अगाडि बढ्न जरुरी रहेको बताए ।
उनले भने ‘समन्वय समितिले बसेर के काम भन्सारले गर्ने हो ? के काम अध्यागमनले गर्ने हो ? के काम क्यानले गर्ने हो ? के काम नेपाल एयरलाइन्सले गर्ने हो ? आफैँले गर्ने हो भने आफैँले गर्ने भनेर एउटा योजना बनाउनु पर्यो । आफू नगर्ने हो माथि नै पठाउनेले मन्त्रिपरिषद्मै पठाउनुपर्ने विषय छ कि । त्यसमा कति दिनको समय चाहिन्छ । आजको बैठकमा हाम्रा सबल र दुर्बल कुराहरू आएका छन् । अब यसको कार्ययोजन बनाउनुपर्याे । के हामीले गर्नसक्छौं ? के माथिल्लो निकायमा पठाउने भन्नेबारे १५ दिनको समय भयो भने तपाईँहरूले सक्नुहुन्छ होला ।’
उनले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्ने बताए । उनले ४६ लाख यात्रुको ओहोरदोहोर गर्ने क्षमताको विमानस्थल टर्मिनलमा ९६ लाख यात्रु ओहोरदोहोर गर्ने गरेको उल्लेख गर्दै यसको समाधानको एउटा मात्र विकल्प प्रविधिको उच्चतम प्रयोग भएको बताए । छलफलमा क्यान, विमानस्थल कार्यालय, विमानस्थल भन्सार कार्यालय, नेपाल वायुसेवा निगम र सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस