अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नियामकीय गुणस्तर (Regulatory Quality) अभिवृद्धि गर्दै उच्च नैतिक मापदण्डका आधारमा पूँजी बजारको दिगो विकास अघि बढाउन निर्देशन दिएका छन्।
सोमबार सेबोनको कार्यालयमा पुगेर बोर्डको गतिविधिबारे जानकारी लिँदै अर्थमन्त्री वाग्लेले पूँजी बजारको विश्वसनीयता, पारदर्शिता र संस्थागत क्षमतामा थप सुधार गर्नुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका उच्च अधिकारी, बोर्ड सञ्चालक समितिका सदस्य तथा सेबोनका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थमन्त्रीलाई स्वागत गर्दै पूँजी बजार सुधारका लागि बोर्डले अघि बढाएका नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए। उनले ‘क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट’ कार्यान्वयनमा ल्याइसकिएको तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्ययोजना कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको जानकारी दिए।
अध्यक्ष भट्टका अनुसार बोर्डले साउन महिनाभित्रै प्रारम्भिक सार्वजनिक निष्कासन (IPO), इन्ट्राडे ट्रेडिङ, मार्जिन लेन्डिङ, सर्ट सेलिङ लगायतका विषयमा परामर्शपत्र (Consultative Paper) तथा आवश्यक नियम, निर्देशिका र कार्यविधिको मस्यौदा तयार गर्ने लक्ष्य लिएको छ। प्राप्त सुझावका आधारमा भदौ महिनादेखि सरोकारवालासँग विस्तृत छलफल गरी आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाइने उनले बताए।
उनले पूँजी बजार विकासमा देखिएका नीतिगत चुनौती समाधान, बोर्डको संस्थागत क्षमता अभिवृद्धि तथा कर्मचारीको कार्यउत्साह बढाउन अर्थ मन्त्रालयबाट आवश्यक सहजीकरणको समेत आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नयाँ नेतृत्वसँगै सेबोनले दीर्घकालीन रणनीति लिएर अघि बढ्न थालेको उल्लेख गर्दै त्यसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको बताए। उनले नेपाल राष्ट्र बैंकजस्तै वित्तीय प्रणालीको सशक्त नियामक संस्थाका रूपमा सेबोनलाई विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले बोर्डलाई कुनै पनि प्रकारको विचलनबिना बलियो नियामक संस्थाका रूपमा स्थापित हुन आग्रह गर्दै डिम्याट खाताको संख्या तीव्र रूपमा बढेसँगै लगानीकर्ताको अपेक्षा पनि उल्लेखनीय रूपमा वृद्धि भएको बताए। त्यसअनुसार संस्थागत क्षमता विस्तार र सेवा सुधारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले नीति निर्माण गर्दा आर्थिक पक्षसँगै पोलिटिकल इकोनोमी को दृष्टिकोणबाट पनि अध्ययन गर्नुपर्ने उल्लेख गर्दै सम्बन्धित सरोकारवालासँग पर्याप्त परामर्शपछि मात्रै नीतिगत निर्णय कार्यान्वयनमा लैजान सुझाव दिए। उनका अनुसार यसले पूँजी बजारको दीर्घकालीन स्थायित्व र विश्वसनीयता थप मजबुत बनाउनेछ।
उनले नयाँ सरकार र नयाँ नेतृत्वसँगै सेबोनको कार्यशैलीमा सकारात्मक परिवर्तन देखिएको उल्लेख गर्दै नियामकीय तथा कानुनी सुधारका लागि नेपाल सरकारले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस