Like us!
Follow us!
Connect us!
Watch us!

असारको बिजुली बिलमा भ्याट तिर्नुभएको छ? अब तपाईंको रकम कसरी फिर्ता हुन्छ?

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ०७ : ३५ मा प्रकाशित

असारको बिजुली बिलमा भ्याट तिर्नुभएको छ? अब तपाईंको रकम कसरी फिर्ता हुन्छ?

नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म खपत भएको विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ। यसअघि असार महिनाको खपतमा समेत भ्याट समावेश गरेर बिल पठाइएपछि उत्पन्न भएको अन्योल अन्त्य गर्दै प्राधिकरणले उपभोक्ताबाट असुल भएको भ्याट रकम आगामी महिनाको बिलमा समायोजन गरिने जनाएको हो।

प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयबाट प्राप्त स्पष्टिकरणका आधारमा असारसम्मको विद्युत् खपतमा भ्याट लागू नहुने निष्कर्ष निकालिएको हो। त्यसअनुसार भ्याटसहित बिल तिरिसकेका ग्राहकको उक्त रकम अग्रिम भुक्तानीका रूपमा गणना गरी आगामी भदौ महिनाको विद्युत् बिलमा समायोजन गरिने व्यवस्था मिलाइएको छ।

विद्युत् खपतको बिल मासिक रूपमा जारी हुने भएकाले असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा जारी हुँदा आर्थिक ऐन, २०८३ अनुसार भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल सिर्जना भएको थियो। यही विषयमा स्पष्टता माग्दै नेपाल विद्युत् प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गरेको थियो।

त्यसपछि आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा साउन १ गतेअघिको विद्युत् खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। विभागका अनुसार असार महिनाको खपतको बिल साउन १ गते वा त्यसपछि जारी भए पनि उक्त अवधिको खपतमा नयाँ व्यवस्था लागू हुने छैन।

यद्यपि साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने नयाँ व्यवस्था लागू हुनेछ। आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ संशोधन गर्दै अन्तिम उपभोक्ताका लागि विद्युत् सेवामा ५ प्रतिशत तथा अन्य उपभोक्ताका हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। विभागले विद्युत् सेवाअन्तर्गत पर्ने न्यूनतम शुल्क (डिमान्ड चार्ज) मा पनि यही मितिदेखि भ्याट लागू हुने स्पष्ट पारेको छ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले असारमै खपत भएको विद्युत्मा समेत भ्याट जोडेर बिल पठाएपछि उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विषयमा चासो देखाउँदै सम्बन्धित निकायसँग समन्वय गरी अन्योल हटाउन पहल गरेका थिए।

आन्तरिक राजस्व विभागको पछिल्लो स्पष्टिकरणसँगै असार महिनाको विद्युत् खपतमा भ्याट नलाग्ने विषय निश्चित भएको छ भने, अतिरिक्त रूपमा असुल भएको रकम उपभोक्ताको आगामी बिलमा समायोजन हुने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको