Like us!
Follow us!
Connect us!
Watch us!

भेनेजुएलाः राष्ट्रपतिका प्रतिस्पर्धीलाइ पक्राउ गरे १ लाख डलर पुरस्कार

अर्थ संसार

शनिबार, २० पुस २०८१, १२ : १७ मा प्रकाशित

भेनेजुएलाः राष्ट्रपतिका प्रतिस्पर्धीलाइ पक्राउ गरे १ लाख डलर पुरस्कार

भेनेजुएलामा राष्ट्रपति निर्वाचन सकिएको भएता पनि केही महिनादेखि राजनीतिक संघर्ष जारी नै छ। 

यसै बिच, अहिले दक्षिण अमेरिकी देश भेनेजुएलाको सरकारले राष्ट्रपति पदका बिपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको अवस्थाबारे जानकारी दिनेलाई १ लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको छ ।

जबकि गोन्जालेजले आगामी शुक्रबार (जनवरी १०) मा राष्ट्रपतिका रूपमा निकोलस मादुरोको सपथ ग्रहण गर्नु अघि नै स्वदेश फर्कने जनाएका थिए । यो घोषणा भेनेजुएलाको अर्को राष्ट्रपतिको कार्यकाल सुरु हुनुभन्दा केही दिन अघि गरिएको हो। उनी हाल स्पेनमा राजनीतिक शरण लिएर बसेका छन्  । 

एडमन्डो गोन्जालेज राष्ट्रपति पदका उम्मेदवार थिए, जसले गत वर्षको मध्यमा भएको चुनावमा राष्ट्रपति निकोलस मादुरोलाई हराएको दाबी गरेका थिए। 

सामाजिक सञ्जाल मार्फत पुरस्कारको घोषणा गरिएको छ । देशको अपराधिक फरेन्सिक अनुसन्धान एजेन्सीको प्रेस कार्यालयले आफ्नो इन्स्टाग्राम पोस्टमा भन्यो, ‘उनको ठेगानाको बारेमा जानकारी दिने जो कोहीलाई १ लाख अमेरिकन डलरको पुरस्कार प्रदान गरिनेछ।’ यसले गोन्जालेजको तस्बिर र उसलाई अधिकारीहरूलाई बुझाउन निर्देशनहरू सहितको वान्टेड बुलेटिन देखाइएको छ ।

सरकारको घोषणाको केही घण्टा पछि राष्ट्रपतिका उम्मेदवार गोन्जालेज निकटले भने कि अब उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण अर्जेन्टिनाबाट सुरु गर्नेछन्, जहाँ उनले शनिबार राष्ट्रपति जेभियर माइलीलाई भेट्ने तय भएको छ ।

खासमा गोन्जालेज गत सेप्टेम्बरमा स्पेन भागेका थिए । गोन्जालेजले गत वर्ष सेप्टेम्बरमा स्पेनको लागि भेनेजुएला छाडेका थिए जब एक न्यायाधीशले जुलाई २८ को राष्ट्रपति चुनावको अनुसन्धानको भागको रूपमा उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरे पछि उनी भागेका हुन् । गोन्जालेजमाथि षड्यन्त्र र कागजपत्र किर्तेको आरोप लागेको छ । 

देशको नेशनल इलेक्टोरल काउन्सिल, जसमा सत्तारुढ दलका वफादारहरू पनि थिए, निकोलस मादुरोले चुनाव जितेको बताएको थियो। तर, यो राष्ट्रपति चुनाव विवादले घेरिन पुगेको थियो । अघिल्लो राष्ट्रपति चुनावको विपरीत, निर्वाचन अधिकारीहरूले मतदानसँग सम्बन्धित विस्तृत जानकारी जारी गरेनन भन्ने उनको तर्क रहेको छ । र त गोन्जालेजले जितको दाबी गरेका छन् ।

यद्यपि, विपक्षीहरूले देशका ८० प्रतिशत इलेक्ट्रोनिक भोटिङ मेसिनबाट ट्याली सिट सङ्कलन गरी अनलाइन पोस्ट गरेका छन् । विपक्षी समूहका उम्मेदवार गोन्जालेजले मादुरोभन्दा दोब्बर मतान्तरले चुनाव जितेको मतदानको रेकर्डले देखाएको पनि उनीहरूको दाबी रहेको छ ।

त्यसैले निर्वाचनमा पारदर्शिता नभएको भन्दै विश्वव्यापी निन्दा भएको छ । त्यसपछि मदुरोले भेनेजुएलाको उच्च अदालतलाई चुनावी नतिजाको लेखा परीक्षण गर्न भने, जसमा सत्तारुढ दलका वफादारहरू पनि समावेश थिए। पछि अदालतले उनको जित सुनिश्चित गरिदिएको थियो ।

अब निकोलस मदुरोले अर्को साता राष्ट्रपति पदको सपथ लिनेछन् । मादुरोलाई जनवरी १० मा हुने सपथ ग्रहण समारोहका लागि राष्ट्रिय सभाबाट निमन्त्रणा प्राप्त भइसकेको छ।

यसैबीच, गोन्जालेजले घोषणा गरेका छन् कि अब उनी सपथ ग्रहण अघि नै स्वदेश फर्कने योजनामा छ तर पछिल्लो वान्टेड जारी भए पछि अब उनले त्यसो गर्नेछन कि छैनन ? त्यो भने अझै खुलेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको