Like us!
Follow us!
Connect us!
Watch us!

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

बुधबार, १९ पुस २०७४, १५ : ०१ मा प्रकाशित

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी


अर्थ संसार, फलेवास, पर्वत– प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् ।

कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक रु ४५ लाख आम्दानी गर्र्नु भएको छ । पन्ध्र रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गत वर्ष रु ३५ लाख आम्दानी गरेका थिए भने यस वर्ष रु ४५ लाख आम्दानी गर्र्नु भयो । उहाँले जैविक प्रणालीबाट तरकारी खेती गर्दै आउनुभएको छ ।

टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायवाट हरिजनले उक्त आम्दानी गर्नुभएको हो ।

फार्ममा गोलभेडाँसँगै काँक्रा, घिरौँला,  बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गर्ने गरेको बताउनुभयो । हरिजनले नयाँ प्रविधि भित्र्याएर तरकारी खेती गर्दै आउनुभएको छ । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भित्र्याएर सफल परीक्षणसमेत गर्नुभएको छ ।

व्यावसायिक कृषिमा जमेका कुश्माका हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’को सफल परीक्षण गर्नुभएको हो । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’को खेती सफल भएको हो ।

युवा पुस्ता लागि लोकप्रिय प्रविधिका रुपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ माध्यम खोजिरहेका बेला कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिन प्रतिदिन बढ्दो छ ।

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको उक्त फार्ममा उत्पादित वस्तुहरु ढुवानीमा कुनै समस्या छैन । उहाँको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले रु २० लाख सहयोग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको