Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची राजधानीमा आइपुग्दा २८ अर्ब लाग्ने

सोमबार, २४ पुस २०७४, ०८ : ३२ मा प्रकाशित

मेलम्ची राजधानीमा आइपुग्दा २८ अर्ब लाग्ने

अर्थ संसार, काठमाडौं– मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ ।

१७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ ।

हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ । सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्या इएको आयोजना सुरु भएदेखि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

अमेरिकी डलरको भाउ बढेसँगै आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब लागत पुग्ने अनुमान गरिएको उनले बताए । लागत बढेपछि एसियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर लागत थप गरेर कुल लागत २८७.४ लाख अमेरिकी डलर पुर्याइएको हो ।

आयोजना सुरु हुँदा अमेरिकी डलर ६४ देखि ६९ रुपैयाँ रहेकोमा हाल १०२ रुपैयाँ पुगेको छ । यस हिसावलेमात्र लागत २८ अर्ब पुग्ने पन्तले जानकारी दिए ।

अहिलेसम्म आयोजनाको काम हेर्दा १ वर्षभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो हुने आयोजनाकै कर्मचारीहरू बताउँछन् । सुरुङ बनाउने काम ९८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ । २७.५ किलोमिटर लामो सुरुङमा अब ५ सय ११ मिटर मात्र खन्न बाँकी छ । तर, सुरुङ फिनिसिङ र हेड वक्र्सको काम भने पूरै बाँकी छ ।

अहिलेसम्म जम्मा २ हजार ५ सय मिटर सुरुङ ‘फिनिसिङ’ भए पनि २५.१ किलोमिटर भने बाँकी नै रहेको पन्तले बताए । यस्तै, वाटर ट्रिटमेन्ट प्लान्टको काम पनि अझै आधाजस्तै बाँकी छ ।

सुन्दरीजलमा दैनिक ८ करोड लिटर पानी ट्रिटमेन्ट गर्ने प्लान्ट बनिसके पनि त्यत्रै अर्को ८ करोड लिटरको ट्रिटमेन्ट प्लान्टको काम बाँकी नै छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । २०१३ सेप्टेम्बरसम्म काम सक्ने गरी सन् २००९ मा सुरुङको ठेक्का लिएको चाइना रेल्वेको काममा ढिलासुस्ती भएको भन्दै सन् २०१२ मा सम्झौता तोडिएको थियो ।

त्यसपछि २०१३ जुलाइबाट सुरुङ निर्माणको काम इटालीको कम्पनी अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी ९सीएमसी०लाई दिइए पनि कम्पनीले नोभेम्बरबाट मात्र काम थालेको थियो । ७ अर्ब ७२ करोडमा सिएमसीसँग सम्झौता भएकोमा हेडवक्र्स र फिनिसिङको महत्वपूर्ण काम बाँकी रहँदै आयोजनाले ७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । २०१८ मार्चमा आयोजना सम्पन्न गरिसक्ने गरी सिएमसीसँग सम्झौता छ ।

आयोजनाका अनुसार अहिलेसम्म सबैभन्दा बढी खर्च सुरुङ मार्ग निर्माण र हेडवक्र्समा भएको छ । यसमा मात्र ९ अर्ब ५८ करोड ६२ लाख रुपैयाँ खर्च भइसकेको छ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणमा ३ अर्ब ३७ करोड १६ लाख खर्च भएको छ ।

त्यस्तै परामर्शमा मात्र ४ अर्ब ८४ करोड २२ लाख र अडिट प्रवेश मार्ग निर्माणमा १ अर्ब २५ करोड ३ लाख रुपैयाँ खर्च भइसकेको छ । मुआब्जा, क्षतिपूर्तिमा ३ अर्ब ९३ करोड, सामाजिक उत्थानमा ७२ करोड १४ लाख, प्रवेशमार्ग मर्मतसम्भारमा ७२ करोड ८४ लाख, मूल प्रवेशमार्ग निर्माण सुधारमा ६२ करोड १ लाख र बाँकी रकम चालू र अन्य खर्चमा सकिएको हो ।

नयाँ वर्षमा पनि कठिन

नयाँ वर्षमा मेलम्चीको पानी काठमाडौं आउने बताइए पनि अहिले भइरहेको कामलाई हेर्दा लक्ष्य पूरा हुन कठिन देखिन्छ । सुरुङ निर्माणकै काम अझै केही मिटर बाँकी छ भने फिनिसिङ र हेडवक्र्सको कामका लागि आवश्यक मेसिन नै आइसकेको छैन ।

तर, सम्झौताअनुसार अबको ३ महिनाभित्र सुरुङ फिनिसिङ र हेडवक्र्सको काम सम्पन्न भइसक्नुपर्ने छ । सुरुङ ‘ब्रेक थ्रु’ गर्न केही दिनअघि ग्याल्थुम पुगेका खानेपानी राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले पनि अहिलेकै गतिमा काम गर्दा वैशाखमा पानी काठमाडौं आइपुुग्नेमा आशंका व्यक्त गर्दै काममा तीव्रता दिन निर्देशन दिएका थिए ।

“फिनिसिङ र हेडवक्र्सको काम ३ महिना अगाडी आउँदा जे थियो, त्यसमा केही प्रगति छैन,” मन्त्री रज्जाकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालाई काममा गति बढाउन निर्देशन दिँदै ब्रेक थ्रुका क्रममा भने, “यत्रो काम बाँकी हुँदा ठेकेदारलाई कसरी भटाभट भुक्तानी दिइरहनुभएको छ रु” उनले काम नसकिँदै भुक्तानी दिइएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार काम बाँकी हुँदै करिब ९० प्रतिशत भुक्तानी ठेकेदारले पाइसकेको तर सुरुमा दिइएको ‘एड्भान्स पेमेन्ट मनी’ भने सुरुको बिलबाटै क्रमशः काट्दै जानुपर्नेमा त्यसो नगरेको भन्दै सिएमसीलाई गरिएको भुक्तानीको फाइल मन्त्रालय झिकाउने तयारी भइरहेको छ ।

आयोजनाका पूर्व कार्यकारी अधिकृत राजकुमार मल्ल भने वैशाखमा पानी काठमाडौं ल्याउन कठिन रहेपनि असम्भव भने नरहेको बताउँछन् । “सुरुङ ब्रेक थ्रु भइसकेको सुनेको छु, केही प्राविधिक समस्या आएन भने वैशाखमा आउनै सक्दैन भन्ने होइन,” उनले भने, “धेरै पहिलेदेखि नै काम सकिन्छ भनेको मिति सर्दै आएको छ ।

नयाँ समस्या आयो भने चाहिँ केही समय लाग्न सक्छ ।” अझै ४ सय ५० मिटर सुरुङ निर्माणको काम नै बाँकी छ भने २५।१ किलोमिटर फिनिसिङ हुन बाँकी छ । एउटा प्लान्ट बने पनि अझै साढे ८ करोड लिटर पानी ट्रिटमेन्ट गर्ने प्लान्ट बनाउनै बाँकी छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको