मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदको प्रक्रियामा भ्रष्टाचार भएको विशेष अदातले ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै विशेषले एमडीएमएस प्रणाली खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको हो ।
न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।
अदालतले दिगम्बर झा, पुरुषोत्तम खनाल, एक जना मलेसियन नागरिक र अर्का एक कानूनी व्यक्तिसहित ४ जनालाई जनही ५ करोड ८० लाखका दरले बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ । झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने छ । चार जनालाई २३ करोड २० लाख जरिवाना तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस