Like us!
Follow us!
Connect us!
Watch us!

भारतले जुनसुकैबेला हमला गर्न सक्ने खतरा: पाकिस्तानका रक्षामन्त्रीको चेतावनी

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, ०७ : ०६ मा प्रकाशित

भारतले जुनसुकैबेला हमला गर्न सक्ने खतरा: पाकिस्तानका रक्षामन्त्रीको चेतावनी

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारत जुनसुकै बेला जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (LoC) मा हमला गर्न सक्ने चेतावनी दिएका छन्। उनले इस्लामाबादमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, "भारत जुनसुकै स्थानमा हमला गर्न सक्ने सूचना छ। नयाँ दिल्लीलाई त्यसको कडा जवाफ दिइनेछ।"

यो अभिव्यक्ति भारत र पाकिस्तानबीचको तनाव उच्च रहेको बेला आएको हो। गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा कम्तीमा २६ जना, प्रायः पर्यटक, मारिएका थिए।

रक्षामन्त्री आसिफका अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सो घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्। उनले भने, “यस्तो छानबिनले भारत स्वयं वा कुनै आन्तरिक समूहको संलग्नता खुलाउनेछ र नयाँ दिल्लीका आधारहीन आरोपहरूको यथार्थ बाहिर ल्याउनेछ।”

यसअघि पाकिस्तानका सूचना मन्त्री अत्ता तारारले पनि भारतले २४–३६ घण्टाभित्र हमला गर्न सक्ने सम्भावना व्यक्त गरेका थिए। यद्यपि त्यो समयसीमा बितिसक्दा पनि भारतको तर्फबाट कुनै कारबाही भएको छैन।

त्यसैबीच, पाकिस्तानका सेनाप्रमुख जनरल सैयद आसिम मुनीरले पनि राष्ट्रको प्रतिष्ठा र जनताको समृद्धिको रक्षा गर्न पूरा बल प्रयोग गर्ने चेतावनी दोहोर्याएका छन्।

भारत सरकारले भने घटनापछि पाकिस्तानमाथि कडा कदम चालेको छ। भारतले इन्डस वाटर सन्धि निलम्बन गर्ने निर्णयसँगै अटारी नाका बन्द गरेको र कूटनीतिक सम्बन्ध पनि घटाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देश रक्षाका लागि “दृढ र निर्णायक” कदम चाल्ने बताएका छन्। उनले सुरक्षाकर्मीहरूलाई कारबाहीको ढाँचा, स्थान र समय तय गर्ने पूर्ण स्वतन्त्रता दिएको जनाएका छन्।

(पीटीआईको सहयोगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको